
आइतवार , आश्विन २४, २०७८
परासी, २४ असोज ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मधेशी जनताको नागरिकतासम्बन्धी समस्या चाँडै सामाधान हुने बताएका छन् । विगत लामो समयदेखि नागरिकता नपाएर समस्या भोग्दै आएका मधशी जनताहरुलाई यो गठबन्धनको सरकारले छिट्टै नागरिकता वितरण गर्ने योजना रहेको बताएका हुन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासनिक भवको उद्घाटन गर्न आएका माओवादी पार्टी अध्यक्ष प्रचण्डले भवनमा लेखिएको शिलालेख अनावरण गर्दै भवनको उद्दघाटन गरेका हुन् । भवनको उद्दघाटन सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले आफूलाई मधेशी जनतासंग प्रेम रहेकोे बताउँदै मधेशी जनताको नागरिकताका समस्या समाधानसंगै मधेशी जनताको हकअधिकार स्थापित गराउन भरपुर पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।
नेता प्रचण्डले सुकुम्बासीलाई पनि छिट्टै पूर्जा वितरण गराउने योजना रहेको जिकिर गर्दै त्यसैका लागि भुमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय आफनो कोटामा पारी जिम्मेवारी लिएकाले सुकुम्बासीलाई पुर्जा वितरण गर्न गृहकार्य छिट्टै अगाडी बढाईने जानकारी दिनु भयो ।
सभालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, प्रतिनिधिसभा सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेल लगायतले सम्बोधन गरेका थिए । गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त भवन ९ करोड ३४ लाख ९९ हजार रुपैयाँको लागतमा निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij