
रुपन्देहीका प्रजिअ भन्छन् : प्रर्दशनकारीले प्रहरीमाथि ढुंगामुढा र पेट्रोल बम हानेपछि गोली चलाउनुपर्यो
सोमवार , आश्विन २५, २०७८
भैरहवा, २५ असोज ।
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएका चारजना मध्ये तीनजनाको अहिलेसम्म सनाखत हुन सकेको छैन् । गोली लागेर गम्भिर भई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएका तीनजनाको अहिलेसम्म सनाखत हुन नसकेको हो।
मृतकहरुको शव भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिएको छ। आइतबार दिउँसो भएको घटनामा १६ जना सुकुम्बासी घाइते भएका थिए। १६ जनामध्ये ४ जनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। झडपमा परी ३१ जना सुरक्षाकर्मी घाइते भएका छन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घाइते भएको जानकारी दिए। घटनाबारे दिनभर मौन रहेको प्रहरीले आइतबार अपरान्ह प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको प्रजिअ तिवारीले जानकारी दिए। प्रजिअ तिवारीले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खटिएका प्रहरीमाथि ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आफ्नो ज्यान जोगाउन गोली चलाउनु परेको बताए। ‘प्रहरी प्रशासनले संयमता नअपनाएको भए ठुलो क्षति हुने अबस्था थियो प्रजिअ तिवारीले भने लाठीचार्ज, अश्रुग्यास, हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको हो, ’उनले भने ।
विगत एकहप्ता देखि मोतिपुर औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएर सार्वजनिक जग्गा कब्जा गरेर घरटहरा बनाउन लागेपछि सुरक्षाकर्मीले टहरा भत्काउन खोजिरहेको थियो । त्यही अनुरुप प्रहरीले आफ्नो काम गरिरहेका बेला आइतबार घटनाले उग्र रुप लिएपछि यस्तो अवस्था आएको प्रशासनको दावी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij