
मंगलवार , कार्तिक २३, २०७८
भैरहवा, २३ कात्तिक । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले न्यायालय र राजनीतिक दलले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले न्याय निरुपण गर्ने काम न्यायालयको र राजनीति गर्ने काम राजनीतिक दलको भएकाले दुवैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मंगलबार भैरहवामा पत्रकारहरुसंग कुराकानी गर्दै यादवले भने, ‘राजनीतिक दलले न्याय दिने अनि न्यायालयले राजनीतिक गर्न थाल्ने हो भने के दुर्दशा हुन्छ ?’ उनले राजनीतिक दल र न्यायालयले आफ्नो सीमा रेखाभित्र रहेर एक अर्काको कार्य गर्न नहुने बताए ।
नेता यादवले न्यायपालिकाभित्रै राजनीति हुन थाल्ने र राजनीतिज्ञले न्याय दिने थाले मुलुक बर्बाद हुने बताए । उनले भने, ‘एक–अर्काको क्षेत्राधिकार क्रस गर्नुहुँदैन, दुवै क्षेत्रलाई अलग राख्नुपर्छ ।’ राजनीतिक मुद्दालाई अदालतबाट भन्दा पनि राजनीतिक तवरबाट समाधान खोज्नुपर्ने उनको भनाइ थियो । ‘अदालतले हस्तक्षेप गर्यो पनि भन्ने अनि न्यायालय पनि गइरहने परिपाटी छ यो हुनुहुँदैन, ’ उनले भने ।
राजनीतिक अस्थिरताका कारण नेपालबाहिरकाले फाइदा लिने खोज्ने प्रवृत्ति रहेको उनले बताए । नेपालको पर्यटन क्षेत्रलाई विकास गर्न सके रोजगारीका लागि युवाहरु कतार, मलेसिया लगायतका मुलुक जानुनपर्ने बताए । ‘पर्यटनको विकासबाट नै स्वदेशमै प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ’, यादवले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij