
बुधवार , कार्तिक २४, २०७८
भैरहवा, २४ कात्तिक । गृहमन्त्री बालकृष्ण खांणले मुलुकका कुनै पनि उद्योगी व्यवसायीलाई दुःख नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले गृह मन्त्रालयमातहत रहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उद्योग व्यवसायीको साथ दिन निर्देशन दिए ।
नेपाली कांग्रेस सिद्धार्थनगर नगर समिति, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको मन्त्री खांणको स्वागत, सम्मान, बधाई तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खांणले भने, ‘गृह प्रशासनले जनताको साथ दियो कि दिएन यसको आम नागरिकले पनि समुचित मुल्यांकन गर्नुपर्छ ।’ उनले प्रहरी जनताको साथी भएकाले प्रहरीप्रति पनि सम्मानजनक व्यवहार गर्नुपर्ने बताए ।
प्रहरी कार्यालयमा जाने जुनसुकै नेपालीलाई प्रहरीले सम्मानजनक व्यवहार गर्न गृहमन्त्री खांणले निर्देशन दिए । उनले कोभिड महामारीको रोकथाममा प्रहरी प्रशासनको महत्वपूर्ण योगदान रहेको बताए । ‘महामारीको बेला फ्रन्टलाइनमा रहेर काम गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सफाईकर्मी, स्वास्थ्यकर्मी लगायत सबैलाई सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छौं, ’उनले भने ।
कोभिड महामारीबाट केही सहजता भए पनि पूर्ण जोखिम अन्त्य नभएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
ठूलो वर्षाका कारण बाढी पहिरोले सयौं बढी नेपालीको ज्यान गुमेको उनले बताए । उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व भएको बताए । नेपालको सुरक्षा निकायले फ्रन्टलाइनमा रहेर काम गरे पनि प्रयाप्त सेवासुविधा दिन नसकिएको उनको भनाइ थियो । शेर बहादुर देउवा नेतृत्वमा सरकार बनेपछि प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि गरिएको बताए ।
‘सरकारले प्रदान गरेको सेवासुविधा सबै प्रहरी जवानले पाउनुपर्छ भन्ने निर्देशन दिन चाहन्छु, ’गृहमन्त्री खांणले भने । सबैले सम्माजनक रुपमा जीवन जिउन पाउनुपर्छ भन्ने मान्यता रहेकाले अधिकृतका लागि मात्र नभइ प्रहरी जवानको लागि समेत सेवासुविधा बढाउने कार्य अगाडी बढेको बताए । साना कुराले समाजमा केही नयाँ परिवर्तन आउने उनले विश्वास व्यक्त गरे । सबै मिलेर यो देश बनाउँछौं भन्ने विश्वासका साथ अगाडी बढेको गृहमन्त्री खांणको भनाइ थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खांणले कांग्रेसका नेता कार्यकर्ता जनताको सेवक भएको बताए । उनले पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा भए पनि एकढिक्का भएर अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुुल रज्जाकले मुलुकमा संकट आउँदा समस्या समाधानका लागि कांग्रेस अगाडी आएको बताए । उनले कम्युनिष्ट नेतृत्वको दुईतिहाई बहुमतको सरकार सञ्चालन हुन नसकेको बताए । ’लोकतन्त्र र संविधानको रक्षा गर्न कांग्रेस सरकारमा गएको हो, ’उनले भने । पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने उनले बताए ।
नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिका सभापति कोशिष बहादुर खड्काको सभापतित्व, उपसभापति देवराज न्यौपानेको स्वागत तथा सचिव अनिल केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिलिप कुमार कान्दु, कार्यसमिति सदस्य संजय वेरिवाल, पूर्व वडाअध्यक्ष भरतसिंह विजुक्छे, रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्तासहित विभिन्न पार्टी परित्याग गरी नेपाली ८ सय जना बढी नेपाली कांग्रेसमा प्रवेश गरेका कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्काले बताए । वेरिवाल गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडाअध्यक्षमा उम्मेदवार बनेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँ र नेपाली कांग्रेस सिद्धार्थनगरका बुथ सभापतिहरुलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij