
मंगलवार , मंसिर ७, २०७८
भैरहवा, ७ मंसिर । लमजुङको क्वहोलासोथार गाउँपालिका वडा नम्बर ३ स्थित घलेगाउँ र वडा नम्बर ४ स्थित भुजुङमा यतिबेला आन्तरिक पर्यटकको घुइँचो बढेको छ । यी गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे गाउँका रूपमा विकास गरिएको छ । यहाँबाट माछापुछ्रे, अन्नपूर्ण, हिमचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
पाहुनालाई देवता सरह व्यवहार गर्ने यहाँका गुरुङ समुदायको मीठो मुस्कान र आत्मीत्यताले पर्यटकहरुको मन लोभिन्छ । पर्यटकहरू गाउँ वरपर रहेको इलामकै झल्को दिने नमुना चिया बगान, भेडीगोठ, भ्युटावर, उत्तरकन्या मन्दिर जस्ता स्थानको अवलोकनमा रमाउने गर्छन् ।
लमजुङ जिल्लाको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ (साविक उत्तरकन्या गाउँ विकास समिति) स्थित रमणीय घलेगाउँ प्रकृति, संस्कृति र स्थानीयपनले सम्पन्न गाउँ हो । घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब ६ सय बर्ष पुरानो मानव वस्ती हो । यो गाउँ गुरुङ समूदायको अत्यधिक बसोबास भएको गाउँ हो ।
समुद्र सतहबाट २१०० मिटर उचाइमा अवस्थित यो गाउँ पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किलोमिटरको दूरीस्थित लम्जुङको सदरमुकाम बेंसीशहरबाट २७ किलोमिटर पश्चिम–उत्तर दूरीमा अवस्थित छ । घलेगाउँमा ८० घर गुरुङ र ४५ घर दलितका छन् । विसं २०५७ देखि १२ वटा घरबाट घरवास कार्यक्रम शुरु गरिएको यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे (घरबास) गाउँका रूपमा विकास गरिएकामा हाल ३० वटा घरमा घरबास कार्यक्रम सञ्चालन गरिएको छ ।
घले गाउँबाट माछापुछ्रे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । स्थानीय नदी एवंखोलाका माछा, भेडीगोठका भेडा, च्याङ्ग्र्रा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरैमा उत्पादित कोदाको रक्सीको स्वाद चाख्नुका साथै मौसम अनुसार कुरिलो, निउरो जस्ता परिकारको स्वाद पनि यहाँ आउने पर्यटकले लिन पाउँछन् ।
लमजुङ सदरमुकाम बेंसीसहरबाट कच्ची मोटरबाटोको यात्रासँगै करिब साढे तीन घण्टामा आइपुगिने यस गाउँमा परम्परागत गुरुङ संस्कृति, घाँटु, सोरठीबाट स्वागत गर्ने प्रचलन छ । पर्यटकहरू गाउँ वरपर रहेको इलामकै झल्को दिने नमुना चिया बगान, भेडीगोठ, भ्युटावर, उत्तरकन्या मन्दिर जस्ता स्थानको अवलोकनमा रमाउने गर्दछन् । यहाँका स्थानीयवासीले गाउँमा आउने पर्यटकलाई टीका, फूलमाला पहियाएर गुरुङ संस्कृति झल्किने नृत्य मार्फत स्वागत गर्दछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij