२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यक : नेता सिंह

शनिवार , मंसिर ११, २०७८

काठमाडौं, ११ मंसिर ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् । कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण सबुज बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताए । “पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढंगले सञ्चालन गर्नका लागि १४ औँ महाधिवेशनबाट यस्तो नेतृत्व आवश्यक छ”, उनले भने । नेता सिंहले १४ औँ महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्ने उल्लेख गरे । 

विसं २०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा किन हा¥यो यसबारे गम्भीर समीक्षा हुनुपर्ने नेता सिंहको भनाइ थियो । 
कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढंगले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने उल्लेख गर्दै जनतालाई आश र भरोसा दिने नेतृत्व १४ औँ महाधिवेशनले दिनुपर्ने बताए । उनले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढंगले आफ्नो मतको प्रयोग गर्न सबैलाई आग्रह समेत गरे । 

कांग्रेस काठमाडौँका सभापतिका उम्मेदवार कृष्ण सबुज बानियाँले कांग्रेस संगठनलाई थप सशक्त बनाउनका लागि आफूले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।

कार्यक्रममा काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसी, सांसद दिव्यमणिराज भण्डारी, प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, जीवन डङ्गोल, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्य, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतको सहभागिता थियो । 

बानियाँ समूहबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा र सहसचिवमा रोमेल श्रेष्ठ र प्रा डा अमिता प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् । रासस