२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

विद्यालय चलाउन अदुवाखेती

आइतवार , मंसिर १२, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • रोल्पा, १२ मङ्सिर। विद्यालय चलाउन अदुवाखेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ। रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो।

    “अर्थाभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवो बिक्री वितरण गर्दै हिँडेका छौँ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भने। उनका अनुसार उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गरिने जनाइएको छ। 

    “ यस वर्ष १० क्विन्टल अदुवा उत्पादन हुने अनुमान गरेका छौँ”, विद्यालयका शिक्षक होमबहादुर खड्काले भने “उत्पादितमध्ये पाँच क्विन्टल निकालिसकेका छौँ, अरु निकाल्न बाँकी छ। ” विद्यालयले उत्पादित अदुवा सदरमुकाम लिवाङमा रहेका शिक्षण संस्था, अन्य सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारीलाई कोसेलीस्वरुप विवतरण गरिरहेको जनाएको छ।  विद्यालय आफैँले अदुवा उत्पादन गरेको प्रचारप्रसार गर्न र आर्थिक सहयोग सङ्कलन गर्न कोसेलीस्वरुप वितरण गर्दै हिँडेको शिक्षक खड्काको भनाइ छ।

    कोशेली वितरणपछि बचेको अदुवा बजारमा बिक्री वितरण गर्ने योजना बनाएको विद्यालयले स्थायी आयस्रोतको रूपमा अदुवाखेती गरेको जनाएको छ। निजी स्रोतमा काम गर्ने शिक्षकहरुको तलब व्यवस्थापनमा समस्या परेपछि विद्यालयले यस्तो योजना अघि बढाएको हो।रासस