images

शुक्रवार, चैत्र १६ गते २०८०

मर्चवारमा वृहत समुदाय सुरक्षा सचेतना अभियान सुरु

मर्चवारमा वृहत समुदाय सुरक्षा सचेतना अभियान सुरु

images
images
images
मंगलवार, मंसिर १४ २०७८
मंगलवार, मंसिर १४ २०७८
  • मर्चवारमा वृहत समुदाय सुरक्षा सचेतना अभियान सुरु

    भैरहवा, १४ मंसिर । 
    रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा वृहत समुदाय सुरक्षा सचेतना अभियान–२०७८ को सुरुवात भएको छ । आम नागरिकलाई सुरक्षा संवेदनशीलतामा सजग बनाई शान्ति र सुरक्षित समाजको निर्माण गर्न विविध कार्यक्रमसहित अभियानको सुरुवात गरिएको हो । 

    images
    images
    images

    ईलाका प्रहरी कार्यालय मझगावा र कोटहीमाई गाउँ कार्यपालिकाको कार्यालय, रुपन्देहीको आयोजनामा सुरु भएको अभियानमा युवा सशक्तिकरण, लैगिक हिंसा, सीमा अपराध, घरेलु तथा महिला हिंसा, ट्राफिकसम्बन्धि जनचेतनामूलक कार्यक्रम, लागुऔषध दुव्र्यसनी, अधारभूत तथा साइबर सुरक्षा, आत्महत्या न्यूनीकरण, प्राकृतिक प्रकोप लगायतका सचेतनामुलक कार्यक्रम साताव्यापी गरिने छ ।

    शान्ति सुरक्षा बढाउन आवश्यक कुरा समावेश गरी ब्रोसर, पर्चा पम्पलेट, पोष्टर लगायत सामग्री प्रत्येक युवाहरुको पहुँचमा पुर्याइ सचेतना गराउने अभियानको उद्देश्यले रहेको कोटहीमाई गाउँपालिकको सूचना प्रविधि अधिकृत राजन चौरसियाले बताए ।

    हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ मर्चवार क्षेत्रका ३ वटा पालिकालाई लक्षित गरी २ महिनासम्म अभियान सञ्चालन गरिनेछ । यस क्षेत्रमा पहिलो पटक सुरुवात गरिएको प्रहरीसँगको साझेदारी कार्यक्रमबाट समाजमा परिवर्तन ल्याउन सकिने भएकोले चुनौतिको बाबजुद उपलब्धिमुलक कार्यक्रमको सुरुवात गरिएको ईलाका प्रहरी कार्यालय मझगावाका प्रमुख एवं प्रहरी निरीक्षक सुरज खत्रीले बताए । 

    अभियानको सुरुवात गर्दै प्रमुुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले प्रहरीलाई समुदायको सहयोग र विश्वास आवश्यक रहेको बताए । उनले प्रहरीले गर्ने काममा स्वच्छता हुनुपर्ने बताए । ‘प्रहरीले जनताको सेवा गर्ने हो, प्रहरीलाई बदमासी गर्ने अधिकार दिइएको छैन, ’उनले भने । एसपी के.सी.ले प्रहरीले कहीं बदमासी गरेको सूचना भए आफूलाई उक्त सूचना दिन आग्रह गरे । उनले गलत कार्य गर्ने प्रहरीले कारवाहीको कुरा मात्र नभई आफूले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कार पनि दिने कुरा गरेको उल्लेख गरे । 

    कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले प्रहरी र समुदाय एकआपसमा हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले सबै एकजुट भए मात्र समाजमा रहेका विकृतिको अन्त्य गर्न सकिने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीले भाषण गरेर विकास समृद्धि नहुने बताए । उनले गाउँपालिकाको विकासका लागि सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताए ।

    कोटहीमाई गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष चन्द्रभान यादवले समस्यामा परेको बेला समाधानका लागि सम्बन्धित निकायमा जानुपर्ने बताए । मर्चवारी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सुनिल जैसवालले समुदाय-प्रहरीबीच समझदारी हुनुपर्ने बताए ।

    सामुदायिक प्रकोप व्यवस्थापन संजालका राष्ट्रिय अध्यक्ष जगन्नाथ कुर्मीले प्रहरीले नागरिक हाम्रो हो र नागरिकले प्रहरी हाम्रो हो भन्ने सोच्नुपर्ने बताए ।

    कोटहीमाई गाँउपालिका अध्यक्ष चन्द्रभुषण यादवको अध्यक्षता तथा गाउँपालिकाका वास संयोजक अजय सिंह क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सोही कार्यक्रममा नवनिर्मित गाउँपालिकाको बहुउद्देश्यीय भवनको उद्घाटन समेत गरिएको थियो । २ करोड ८० लाखको लागतमा निर्मित भवन ४५ सय वर्ग फिटको रहेको छ, ।  लुम्बिनी प्रदेश सरकारको एक पालिका एक बहुउद्देशयीय हल अन्तर्गत बनेको दुईतल्ले भवनमा माथिल्लो तल्लामा १० वटा आवासीय कोठा रहेको गाउँपालिकाका इञ्जिनियर अरविन्द यादवले जानकारी दिए ।
      

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij