२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

रुपान्तरणको सन्देश दिनुछ : महामन्त्री शर्मा

सोमवार , पौष ५, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रुपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन्।

    कांग्रेसको १४औँ महाधिवशेनबाट महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै उनले समाज रुपान्तरण गर्ने कार्य कुनै दलका लागि मात्र नभइ समग्र राष्ट्रका लागि आवश्यक रहेको बताए ।

    “देश बनाउन भौतिक विकाससँगै सामाजिक रुपान्तरण पनि अपरिहार्य छ । समाजमा विद्यमान कुरीतिका साथै बालहिंसा, घरेलु हिंसा, एसिड आक्रमणलगायत विकृति अन्त्य गर्नु सबैको साझा दायित्व हो”, महामन्त्री शर्माले भने ।

    कांग्रेस १४औँ महाधिवेशनमा पार्टी पदाधिकारीमा ठूलो नेतृत्वपङ्ति बाहिर रहेको अवस्था दर्शाउँदै उनले त्यसलाई संयोजन गर्ने दायित्व सभापतिका साथै आफ्नो पनि रहेको उल्लेख गरे । तीन वर्ष कांग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हालीसक्नुभएका उहाँले आगामी दिनमा पनि मिडियामैत्री भएर आफ्ना काम कारबाही सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    फरक प्रसङगमा महामन्त्री शर्माले नेपालको संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रतालगायत जनताका मौलिक हकका पक्षमा आफू सदैव अडिग रहेको बताउँदै कुनै पनि मुलुकमा रहेको स्वतन्त्र मिडिया र दलगत प्रतिस्पर्धाले नै त्यस मुलुकको प्रजातन्त्रको स्तर निर्धारण हुने उल्लेख गरे । पचास वर्षीय उनी कांग्रेसको हालै सन्पन्न १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन्। रासस