
आइतवार , पौष ११, २०७८
काठमाडौँ, ११ पुस। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन्।
कमलादीस्थित प्रज्ञा भवनमा आज आयोजित उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललगायत विभिन्न राजनीतिक दलका नेताहरुकोसमेत उपस्थिति रहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्से तुङको १२९औँ जन्मजयन्तीका अवसरमा महाधिवेशनको उद्घाटन गरिएको हो । अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको तस्विरमा माल्यापर्ण गरे । यस्तै, उद्घाटन सत्रमा महिला समूहको पञ्चेबाजा लगायतको प्रस्तुति पनि समावेश गरिएको छ ।
प्रज्ञा भवनको हल खचाखच रहेको छ भने परिसरमा डिस्प्लेमार्फत प्रत्यक्षरुपमा हेर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनस्थलमा जनयुद्धको स्मरण गर्ने तस्विर लगायतका सामग्री प्रदर्शन गरिएको छ । यस्तै कलाकारले माओवादीको आठौँ महाविधेशनका सन्दर्भमा तयार पारिएको गीतसमेत प्रस्तुत गरेका छन् ।
नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन भन्ने मूल नारा तय गरेको छ । यसअघि राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा परिवर्तन गरेको हो । महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागिता छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij