
सोमवार , पौष १२, २०७८
काठमाडौँ, १२ पुस। कमलादीस्थित प्रज्ञा भवनको परिसर । हातमा क्लियर ब्याग, गलामा गलबन्दी र शिरमा ढाका टोपी । घाटीमा महाधिवेशन प्रतिनिधिको कार्ड । उमेर नौ दशक उक्लने तयारी अर्थात् ८६ वर्ष ।
नुवाकोटको तादी गाउँपालिका– ७ का पत्तबहादुर मैनालीको सामान्य हुलिया हो यो । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा सहभागी हुन नुवाकोटको सुन्दरादेवीबाट काठमाडौँ आउनुभएका मैनाली एकै क्षण महाधिवेशन स्थलमा राखिएको जनयुद्धकालीन तस्विरमा टक्क अडिए।
जनयुद्धकालका नेता तथा माओवादी लडाकुको तस्विर हेरे । “हाम्रो इतिहास है यो, नेपालको राजनीतिक परिवर्तनको इतिहास”, आफ्नै शुरमा मैनालीले प्रतिक्रिया जनाए । अनि महाधिवेशनको फ्लेक्स अगाडि उभिएर हल्का मुस्कुराए । यो दृश्य नियालीरहेकाले उनको अगाडि पुगेर नमस्कार गर्यो र सोध्यो, “बुबा तपाई पनि महाधिवेशन प्रतिनिधि हो ?” गलामा झुण्ड्याएको कार्ड देखाउँदै उनले भने, “हो म ज्येष्ठ कम्युनिस्ट मञ्चका तर्फबाट महाधिवेशन प्रतिनिधि । ”
असाध्यै फुर्तिका साथ उनी कुराकानी गर्न तयार भए । “युवा नेताको जस्तै युवा जोश र जाँगर छ मसँग, देशमा ठोस परिवर्तन होस् र राजनीतिक स्थायित्व होस् भन्ने कामना छ”, उनले भने, “कम्युनिस्ट आन्दोलनलाई अझै नयाँ उचाइमा पु¥याउने धोको पनि छ ।” त्यही धोको बोकेर नेकपा९माओवादी केन्द्र०को आठौँ महाधिवेशनमा सहभागी हुन आएको उनले सुनाए ।
बुढेशकालमा किन आउनुभएको त तपाई ? महाधिवेशनबाट के अपेक्षा गर्नुभएको छ भन्ने राससको प्रश्नमा मैनाली भन्छन्, “देशमा हालसम्म भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता माओवादी पार्टी हो, यो पार्टीलाई अझै समृद्ध बनाउने धोको राखेर महाधिवेशमा सहभागी हुन आएको हुँ ।”
माओवादीले पार्टीमा युवा, वयस्क र ज्येष्ठ उमेर समूहको समिश्रण गर्ने लक्ष्य राखेको छ । वृद्धको अनुभव र ज्ञान, युवाको जोश अनि वयस्कको सुझबुझपूर्ण नेतृत्वलाई एकैसाथ अगाडि बढाउने लक्ष्य राखिएको छ । पार्टीमा पहिलो पटक २० प्रतिशत युवालाई सहभागी गराउने लक्ष्य राखेको माओवादीमा अरु युवा जस्तै काम गर्न सक्छु भन्ने जोश आफूमा रहेको मैनालीको भनाइ छ ।
पुसको चिसोमा पनि उस्तै जाँगरका साथ कमलादीमा महाधिवेशनको फ्लेक्स अगाडि उभिएर मैनाली भन्छन्, “मुलुकको मुक्ति माओवादीबाट मात्रै सम्भव छ ।” कता कता रुमल्लिँदा माओवादीले बाटो बिराए जस्तो, एजेण्डा हराए जस्तो लागेको टिप्पणी गर्दै मैनाली यस महाधिवेशनबाट पार्टीमा सुधार आउने विश्वास व्यक्त गर्छन् ।
सहमतिबाट नै नेतृत्व चयन होस् भन्ने उनको चाहना छ । नेपालमा विसं २००७ मा राणा शासनको अन्त्य भए पनि त्यसको प्रभाव लामो समयसम्म रहेको र त्यसलाई माओवादी जनयुद्धले समूल अन्त्य गरिदिएको मैनालीको भनाइ छ । गाउँगाउँबाट राजनीतिक चेत र जागरण ल्याउने काम माओवादी जनयुद्धले गरेको बताउने मैनाली महाधिवेशनपछि माओवादी अझै इस्पातिलो भएर आउने विश्वास व्यक्त गर्छन् । जनयुद्धमा भएको बलिदानको मूल्य स्थापित गराउन माओवादी नेतृत्वले दृढताका साथ पहल गर्नुपर्ने उनको सुझाव छ ।
राष्ट्रियताको मुद्दामा स्पष्ट भएर अगाडि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिएका मैनाली जनताको विश्वास तथा साथलाई भने नङ र मासु जस्तै कायम राख्नुपर्ने बताउछन् । उनले भने, “जनता माओवादीको पक्षमा छ, केही मानिसले गलत गर्ने प्रयास गरे, त्यसलाई सच्याएर अगाडि जानुपर्छ ।” जनताको परिवर्तनको एजेण्डालाई अगाडि बढाउने तागत माओवादी पार्टीमा नै रहेको भन्दै उनी पार्टी छाडेर गएकालाई समेत मूल घरमा फर्कन आग्रह गर्छन् ।
मैनालीले ऐतिहासिक सन्दर्भ जोड्दै भने, “नेपालमा राजतन्त्रको अन्त्य गर्ने माओवादी हो, जनताको मुक्तिका लागि लड्ने पनि माओवादी नै हो, अब थप स्पष्ट एजेण्डाका साथ अगाडि बढेर विकास र समृद्धिको नेतृत्वसमेत गर्नुपर्छ ।” उनले कसैले के भन्ला भन्ने नहेरिकन माओवादी अगाडि बढ्नुपर्ने बताए । देशको समग्र एजेण्डा माओवादीको भए पनि न खासरुपमा नेतृत्व गर्न नपाउँदा कताकता हराए जस्तो भए पनि पार्टीले आफ्नो धरातल सम्झिए अझै पनि केही बिग्रिनसकेको उनको भनाइ छ ।
नेताहरुलाई जनताका बीचमा जान, शहीद, बेपत्ता, घाइतेको अवस्था बुझ्न तथा गरिखाने तल्ला वर्गको पक्षमा उभिन मैनाली सुझाव दिन्छन् । “म यो उमेरमा त केही हुन्छ भनेर लागेको छु भने नेताहरुले यसमा ध्यान दिनु पर्दैन”, उनले भने, “नीति, कार्यक्रम र स्पष्ट एजेण्डाका साथ अगाडि बढे असफलता भन्ने शब्द नै शब्दकोषमा भेटिन्न ।” रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij