२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

तिलोत्तमा चेम्बर अफ कमर्सले माघ १३ देखि महोत्सव गर्दै

सोमवार , पौष १९, २०७८

बुटवल, २० पुस  ।  

तिलोत्तमा चेम्बर अफ कमर्सले व्यापार महोत्सव सञ्चालन गर्ने भएको छ । व्यवसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार भन्ने नाराको साथमा तिलोत्तमा औद्योगिक कृषि पर्यटन तथा व्यापार महोत्सव २०७८ गर्न लागेको हो ।

कमर्सले सोमबार पत्रकार सम्मेलन गर्दै माघ १३ गतेदेखखि २४ गतेसम्म मेला सञ्चालन हुने जनाएको छ । कमर्सका अध्यक्ष बाबुलाल भुसालले यस्ता महोत्सवले उत्पादक तथा उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराउन सहयोग गर्ने बताए ।

भुसालले महोत्सवमा निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने, स्थानीय उत्पादनमा गुणात्मक सुधार गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने लगायतका उद्देश्य राखि व्यापार मेला आयोजना गर्न लागिएको जानकारी दिए।

तिलोत्तमा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष जेपी कंडेलले देश विदेशका व्यवसायीहरुसंग अनुभव आदानप्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोक संस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने तथा कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन मेलाले सहयोग गर्ने बताए ।

महोत्सवमा कृषि व्यवसायसम्बन्धी गोष्ठी, ताजा तरकारी तथा फलफूल प्रर्दशनी, आधुनिक कृषि पेभिलियन, होटल व्यवस्थापन तथा पर्यटन प्रवद्र्धन गोष्ठी, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहने अध्यक्ष भुसालले बताए ।

मेलामा १० करोड बराबरको कारोबार हुने र २ लाख दर्शक भित्र्याउने आयोजकले दावी गरेको छ । तिलोत्तमा–५ स्थित मेला मण्डपमा महोत्सवमा स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्ने तथा उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको मेला आयोजकले जनाएको छ ।

त्यसै गरी विभिन्न सांस्कृतिक कार्यक्रम समेटिएको मेलामा महिला अपांगता भएका व्यक्तिहरुको लागि १५ वटा स्टल निशुल्क उपलब्ध गराइने जानकारी दिए ।