
शुक्रवार , पौष २३, २०७८
बुटवल, २३ पुस ।
सधैजसो साँझ ५ बज्न नपाउँदै बन्द हुने ईलाका प्रशासन कार्यालय बुटवल आज (शुक्रबार) भने राति ११ बजेसम्म खुला थियो । कार्यालय परिसर र एउटा कोठाभित्र गरी सय डेढ सय नागरिक जम्मा थिए ।
५ बजेपछि नागरिकको कामका लागि आनाकानी गर्ने प्रशासन कार्यालय मतदाता नामावली भराउनका लागि राति ११ बजेसम्म खुलेको बुझिएको छ । तर, ईलाका प्रशासन कार्यालयको मनखुसी नभइ गृह प्रशाशनको दवावमा खुलेको एमाले कार्यकर्ताले दावी गरेका छन् ।
ईलाका प्रशासन कार्यालय मध्यरातसम्म खोलेर अवैध काम भएको भन्दै एमाले कार्यकताले तालाबन्दी गरेका छन् । गृह प्रशासनको आडमा मध्यरातसम्म कार्यालय खोलेर नेपाली काँग्रेस निकटका नेताहरुले आफ्ना कार्यकताहरुलाई मतदाता नामावली भराउने काम गरेपछि तालाबन्दी गरिएको नेकपा एमाले रुपन्देहीले जनाएको छ ।
कार्यालयभित्र प्रहरी प्रशासनको निगरानीमा नियमविपरीत मध्यरातमा मतादाता नामावली भराउने कार्य निन्दनीय र सत्ताको चरम दुरुपयोग भएको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष समेत रहेका एमाले युवा नेता यम पाण्डेले बताए । रातीको ११ बजेसम्म पनि बाक्लो सुरक्षाकाबीच मतदाता संकलन हुनुलाई षड्यन्त्रका रुपमा लिइएको उनले बताए ।
तालाबन्दी र मतदाता नामावलीमा फोटो खिचाउने सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको काँग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij