परासी, २५ पुस ।
नवलपरासीमा क्रमश : उखु खेती घटदै गएको छ । उखुको समर्थन मुल्य निर्धारणमा ढिलाई र मिलहरुको भुक्तानीमा व्यापक ढिलाई र आलटालका कारण किसानहरु निराश हुँदै उखुखेती छाडदै गएका छन् । गरीब उखु किसानहरु खेतीपाती गर्न साहु महाजन कहाँबाट चर्काे ब्याजमा ऋण लिई खेती गर्ने गर्छन् तर समयमा उखुको भुक्तानी नपाएपछि ब्याज र ऋण तिर्न पर जाओस् घर व्यवहार समेत मिलाउन कठिनाई भोग्नु पेरेको किसानहरुकोे दुःखेसो छ ।
विगतमा ५ विगाहा क्षेत्रफलमा उखु खेती गर्दै आएका प्रतापपुर गाउँपालिका–८ निवासी उखु किसान युवराज मौर्यले गत वर्षदेखि उखु खेती घटाउँदै १ विगाहा क्षेत्रफलमा झारेका छन् । ‘५ वर्ष अघि मिलहरुले भुक्तानी समय समयमा दिने गर्थे, त्यही भएर किसाहरु उत्साहित थिए र उखु खेती बढाउँदैै आएका थिए, तर विगतका बर्षहरुदेखि सरकारले समर्थन मूल्य ढिलो निर्धारण गर्ने र यता चिनी मिलहरुले भुक्तानीमा आलटाल गर्दै २/३ बर्षसम्म भुक्तानी झुलाउने कारणले किसानहरुमा निराशा छाएको छ, ’मौर्यले भने ।
एकातिर उखुको खेती गर्न लागत बढी लाग्ने, समयमा मल, नपाउने, अर्काेतर्फ सरकारले मूल्य कम निर्धारण गर्ने र चिनी मिलहरुले भुक्तानीमा व्यापक ढिलाई गर्ने कारणले किसानहरु उखु खेती छोडदै गएका छन् । किसानले समयमै उचित मूल्यसहित भुक्तानी नपाएपछि ऋण ब्याज तिर्न सकेका छैनन् भने घर व्यवहार र सिजनल खेती समेत गर्न निकै कठिनाईले उखु किसानहरु खेती छाडदै केरा लगायत खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
वि.सं. २०६४ सालमा उखुखेती १० हजार हेक्टर क्षेत्रफलमा पुगेर ३२ लाख क्विन्टल उत्पादन भइरहेको थियो तर क्रमश ः घटदै वि.स. २०७२ सालमा साढे ७ हजार हेक्टर क्षेत्रफलमा झरी १८ लाख क्वीन्टल उत्पादनमा सीमित हुन पुग्यो । उखु खेतीको लगानी अनुसार समर्थन मुल्य निर्धारण नहुनु र भुक्तानीमा जालझेल र ठगि हुन थालेपछि हाल ५ हजार हेक्टर क्षेत्रफलमा खेती झरी १० लाख क्विन्टल उखु उत्पादनमा सीमित भएको उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष उमेशचन्द्र यादवले बताए ।
जिल्लामा बागमती खाडसारी चिनी मिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज, लुम्बिनी चिनी मिल गरी ३ ठुला चिनी मिल छन् भने १ सय बढी भेली क्रसरहरु सञ्चालनमा छन् ।
चिनी मिलले समयमा भुक्तानी नदिई थप निराश बनाउने कार्य गर्दै आएको किसानहरुको आरोप छ । त्यस्तै भेली क्रसरहरु पनि सरकारले निर्धारण गरेको समर्थन मूल्य नदिई किसानको बाध्यात्मक अवस्थाको फाइदा उठाउँदै उखुमा घौटतौली समेत गर्ने गरेको पाइन्छ ।