
शुक्रवार , आश्विन ३०, २०७७
भैरहवा। प्रदेश ५ को राजधानी बुटवलबाट दाङको देउखुरी क्षत्रमा सार्ने सरकारी प्रस्तावको बिरोधमा बुटवलमा भएको आन्दोलनमा क्रममा सरकारी स्कूटी जलाएको अभियोगमा प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ ब २४७० नम्बरको सरकारी स्कूटर जलाई आपराधिक उपद्रो गरेको अभियोगमा कार्वाही अघि बढाइएको रुपन्देही प्रहरीले जनाएको छ।
प्रहरीले बुटवल ११ बुद्धनगरका भेषराज पोख्रेल, देविनगर बस्ने रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसका सुरज क्षेत्रीलाई सरकारी स्टुटर जलाएको अभियोगमा कार्वाही अघि बढाएको जनाएको छ। दुइजना नियन्त्रणमा छन् भने अरुलाइ बयान लिएर तारेखमा छोडेको छ।
गत असोज १६ गते बुटवल–११ देविनगरको होराइजन चोकमा सरकारी स्कुटि जलाएको उनीहरुमाथि आरोप छ। चारैजनालाइ अपराधिक उपद्रोको मुद्दा दर्ता गरी कानूनी दायरामा ल्याई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले जनाए।
प्रहरीको स्कूटर रोक्ने दुई जना युवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। पक्राउ पर्नेहरुमा देवदह नगरपालिका ४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्त खास रहेका छन। उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
रुपन्देहीको देवदह ५, खैरेनी कचहरा पुल माथी बसन्त रेग्मी र भुवन खासुले डिउटीमा जाँदै गरेका प्रहरीको स्कूटर रोकी स्कूटी फुटाईदिउ भन्दै धाक धम्की समेत दिई जबरजस्ती लाईसेन्स बिलबुक माग्ने काम गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij