
सोमवार , माघ १०, २०७८
बुटवल, १० माघ ।
लुुुुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पूर्ण खोप लगाउने गरी सरकार अघि बढेको बताएका छन् । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउँदै मन्त्री थारुले खोपलाई द्रुत गतिमा अगाडि बढाएको जानकारी दिए ।
सोमबार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थारुले पहिलो खोप लगाएकामध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकाहरुमा एक प्रतिशतको मात्र मृत्यु भएको बताए ।
उनले पहिलो खोप ८५ प्रतिशतलाई लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइसकेको समेत जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो डोज दिने तयारी गरेको बताए । उनले फागुनसम्ममा सबैलाई खोप लागाउने योजना प्रदेश सरकारको रहेको बताए । उनले खोपप्रति ग्रामीण भेगका नागरिकमा चेतनाको समस्याले गर्दा खोप लगाउनेको संख्या पूर्ण हुन नसकेको समेत बताए । स्थानीय तहको समन्वयमा नागरिकलाई खोजी खोजी खोप लगाउने तयारी गरिरहेको उनले बताए । मन्त्री थारुले जिल्लामा नियमित खोप लगाउने केन्द्रको स्थापना गरी खोप लगाउने योजना रहेको बताए । प्रदेश सरकारले नागरिक समाज, स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा महामारी नियन्त्रणलाई गर्नुपर्ने बताए ।
कोरोना नियन्त्रण भन्दा सरकारको ध्यान अन्यत्र : पूर्वमन्त्री श्रेष्ठ
पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जोखिमका विषयमा गम्भिर नभएको आरोप लगाएका छन् । उनले नागरिकलाई खोप लगाउने विषय, कोभिड नियन्त्रण तथा व्यवस्थापन, स्थानीय पालिकासंग सम्वन्य र परिचालनको साथै कर्मचारी परिचालनमा कडाई साथ नलागेको आरोप लगाए ।
उनले प्रतिपक्षले महामारीमा सरकारका योजना तथा मन्त्रीले ल्याएका कार्यक्रम कार्यन्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै बजेट जोगाउने नाममा जनताका सुविधा कटौती गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजनाहरु कटौती गर्न नहुने बताए । उनले अहिलेको सरकारले निजी क्षेत्रसंग सहकार्य नगर्ने, स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने वातावरण नबनाउने र विगतका कानूनी जटिलतालाई पनि सुधार गर्न नसके स्वास्थ्य जोखिम बढेर जाने औँल्याए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले तेस्रो भेरियन्ट आउँछ भन्ने थाहा हुँदाहुँदै पनि राजनीतिक दलहरूको महाधिवेशन लगायतका गतिविधिले अहिले पुनः संक्रमितको संख्यामा वृद्धि हुँदै गएको र जोखिम बढेको बताए । उनले कोरोना नियन्त्रण, व्यवस्थापन तथा पूर्व तयारीमा सरकार असफल भएको र कोभिड नियन्त्रणको विषयले महत्व नपाएको आरोप लगाए । खनालले नागरिक समाज, स्वास्थ्यकर्मीहरू, नागरिक संस्थाहरूसंग सहकार्य गरेर अगाडी नबढेको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरूलाई बढी कोरोना प्रभावित भएको हुँदा स्वास्थ्यकर्मीहरूको अभाव हुन सक्नेतर्फ पनि संकेत गरे ।
लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपाल बहादुर पोखरेल महामारीमा निजी स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य संस्थाहरुलाई उपेक्षा गरेको आरोप लगाए । उनले कोभिडको यस्तो महामारीमा पनि सरकारले निजी क्षेत्रलाई दिने सहुलियत नदिएको, परिचालन र सम्वन्य नगरेको बताए । उनले निजी मेडिकल कलेजसंग जनशक्ति रहेकोले कोरोना खोप केन्द्रको रूपमा पनि निजी मेडिकल कलेजसँग सहकार्य गर्र्न आग्रह गरे । उनले पछिल्लो समय सरकारले मेडिकल कलेजले पारामेडिकल्स र नर्सिङ पढाउन नपाउने कानून ल्याएको भन्दै यसले स्वास्थ्य जनशक्ति उद्पादनमा पनि ठुलो असर गर्ने भएकाले सरकारको ध्यानाकर्षण गराए । उनले निजी संस्थाहरुले सरकारको निति अनुसार बिमाको सुविधा दिने गरेको तर सरकारबाट बिमाको पैसा समेत नपाएको गुनासो गरे । उनले पछिल्लो समयको महामारीले गर्दा बैंकहरूबाट सुविधा नपाएको र निजी संस्थाहरु धरासायी भएर बन्द हुने क्रममा रहेको बताए ।
नेपाल जनस्वास्थ्यकर्मी संघकी केन्द्रिय सह–कोषाध्यक्ष उमा थापाले विश्व नै कोरोनाबाट आक्रान्त भैरहेको समयमा स्वास्थ्यकर्मीहरूले चौबिसै घण्टा खटेर काम गरिरहेको बताइन् । उनले स्वास्थ्यकर्मीहरुले ओभर डिउटी गर्दै स्वास्थ्य सेवामा लागेको भए पनि सरकारी तहबाट मुल्यांकन हुन नसकेको गुनासो गरिन् । निजी संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा जोखिम भत्ता समेत अहिलेसम्म सरकारले उपलब्ध नगराएको उनको भनाइ थियो ।
कार्यक्रम रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री र तेजेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij