
मंगलवार , माघ ११, २०७८
काठमाडौं, ११ माघ ।
राष्ट्रिय जनमोर्चाले दार्चुला जिल्लाको सदरमुकाम खलंगापारि महाकाली नदीको प्राकृतिक बहाव रोक्ने उद्देश्यले भारतीय पक्षले गरेको तटबन्ध निर्माण कार्यप्रति आपत्ति जनाएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा नेपालसँग सहमति नलिई भारतले एकलौटी ढंगबाट जारी राखेको तटबन्ध निर्माण कार्यले नेपालतर्फ वर्षायाममा हुन सक्ने सम्भावित क्षतिका कारण तत्काल कार्य रोक्न सरकारसँग माग गरिएको छ ।
भारतले अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमा नेपालको सहमति नलिई एकलौटी ढंगबाट संरचना निर्माण कार्य अगाडि बढाएर अन्तर्राष्ट्रिय नियम, कानून तथा प्रचलनको अतिक्रमण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अन्तर्राष्ट्रिय नियमअनुसार अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्र महाकाली नदीमा नेपाल तथा भारतले आफ्नो भू–भागभित्र कुनै भौतिक संरचना निर्माण गर्नुपरेमा एकअर्काको मुलुकको सहमति लिनुपर्नेमा त्यसो नगरी नेपालको सार्वभौमसत्ता तथा अखण्डतामाथि भारतले गरेको हस्तक्षेपप्रति सरकार भारतीय पक्षसँग दृढतापूर्वक प्रस्तुत हुन सुझाव दिइएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij