
बुधवार , माघ १२, २०७८
भैरहवा, १२ माघ ।
विभिन्न पाँच बुँदे माग राख्दै संयुक्त विद्यार्थी संगठनले भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झालाई बुधबार ज्ञापनपत्र बुझाएका छन् । नेकपा (एमाले) निकट अनेरास्ववियु, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन र जनमत पार्टी निकट विद्यार्थी जनमत संघले ज्ञापनपत्र बुझाएका हुन् ।
क्याम्पसको कार्यसमितिको बैठकबाट कोभिड महामारीको बेलामा पनि क्याम्पस प्रमुख लगायत विभिन्न पदमा रहेकाहरुको भत्ता बढाइएकोमा आफूहरुको ध्यानाकर्षण भएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । शैक्षिक वर्ष २०७८ मा नयाँ भर्ना हुने विद्यार्थीहरुसंग एकमुष्ट रकम लिने निर्णय गरेकाले तुरुन्तै फिर्ता लिनुपर्ने तथा गरीब र जेहेन्दार विद्यार्थीहरुसंग वर्षभरीको शुल्क एकमुष्ट लिने निर्णय तुरुन्त फिर्ता लिनुपर्ने माग राखिएको न्यौपानेले बताए । क्याम्पस कार्यसमितिको विगत ७ वर्षदेखिको निर्णयहरु र ७ वर्षदेखिको आयव्ययको विवरण उपलब्ध गराउन समेत माग गरिएको राप्रपा निकट विद्यार्थी संगठन रुपन्देहीका उपाध्यक्ष सलमान अहमद खानले बताए ।
क्याम्पस प्रमुख लगायत केही व्यक्तिहरुको प्रयोगको निम्ति सवारीसाधन (कार) किन्ने कुरा आएकोप्रति विद्यार्थी संगठनको गम्भिर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस्तै एल.एल.बी. संकाय क्याम्पसमा ल्याउन पहल गर्नुपर्ने, विद्यार्थीलाई बस्न कक्षाकोठाको आवश्यकता रहेकाले क्याम्पसको बाँकी भवन निर्माण गर्न टेण्डर आह्वान गर्नुपर्ने संयुक्त विद्यार्थी संगठनको माग रहेको विद्यार्थी जनमत संघ भैरहवा बहुमुखी क्याम्पस संयोजक हरि गोविन्द केवटले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij