२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

राष्ट्रिय युवा संघको साताव्यापी रक्तदान अभियान सुरु

बिहिवार , माघ १३, २०७८

काठमाडौं, १३ माघ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास अगाडिबाट बुधबार राष्ट्रिय युवा संघ नेपालले सप्ताहव्यापी खुला रक्तदान अभियान सुरू गरेको छ । संघले पार्टी अध्यक्ष ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपत्यकामा बढ्दो रगत अभावलाई कम गर्ने उद्देश्यले बुधबारदेखि अभियान सुरु गरेको हो । बालकोटस्थित ओली निवास अगाडिबाट सुरु भएको अभियानअन्तर्गत रक्तदान कार्यक्रममा सहभागीलाई हौसला प्रदान गर्दै उनले राम्रा कामका लागि सधैँ अगाडि बढ्न युवालाई शुभकामना दिए ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले युवा रगत मात्रै नभई आवश्यक परे देशका लागि बलिदान गर्न तयार भएको र सधैँ सकारात्मक कामका लागि युवा संघ अगाडि बढ्ने बताए ।

त्यस्तै एमालेका पोलिटब्युरो सदस्य एवं संघीय सांसद गोकुल बाँस्कोटाले पनि सहभागीलाई हौसला प्रदान गर्दै अभियानको सफलताको कामना गरेका थिए । त्यस अवसरमा अध्यक्ष ओलीलाई नेता बस्नेतले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मायाको चिनो प्रदान गरेका थिए । बस्नेत र नेता बाँस्कोटाले रक्तदातालाई संघले प्रकाशन गरेको पुस्तक ‘तस्विरमा ओली सरकार’ उपहार प्रदान गरेका थिए ।

संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले बालकोटबाट सुरु भएको रक्तदान कार्यक्रम उपत्यकाका तीन जिल्लाका १५ ठाउँमा सञ्चालन हुने बताए । भक्तपुरको बालकोट र दरबारस्क्वायर ललितपुरको जावलाखेल तथा पुल्चोक, काठमाडौँको बानेश्वर, नयाँ बसपार्क, कोटेश्वर, कलंकी, माइतीघर मण्डला, न्युरोड लगायतका ठाउँमा रक्तदान अभियान सञ्चालन गरिने उनले बताए । 
अभियानमा पहिलो दिन ५५ जना रक्तदाताले रक्तदान गरेको राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । रासस