
आइतवार , माघ १६, २०७८
भैरहवा, १६ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धनको सरकार धेरै समय चलाउन नचाहेको बताएका छन् । उनले गठबन्धन सरकारले देशलाई ठूलो कुरा दिन नसक्ने बताए ।
सहिद दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई आइतबार भैरहवामा सम्बोधन गर्दै उनले कांग्रेस निर्वाचन जितेर स्थायी सरकार चलाउन चाहेको बताए ।
उनले भने, ‘जित्नेबित्तिकै सुरु गरेको योजना पाँच वर्ष नबित्दै पुरा गर्न चाहन्छौं, केपी ओली जस्तो दुईतिहाई ल्याएर देशको नेतृत्व गरेर सुतेर बस्ने काम कांग्रेसले गर्दैन ।’ ३ वर्षसम्म दुईतिहाईको सरकार चलाएका ओलीले यो देशलाई केही दिन नसकेको उनले आरोप लगाए ।
ओली नेतृत्वको सरकारले एउटा पनि नयाँ काम ल्याउन नसकेको उनको भनाइ थियो । ‘पुराना सरकारबाट विरासतमा प्राप्त भएका कुरा रेडियो, टेलिभिजनको माध्यमबाट प्रधानमन्त्रीको सम्बोधनको नाममा प्रचार गर्दै सरकारले उपलब्धी गर्यो भनेर कसैले पत्याउँदैन, ’उनले भने ।
निर्वाचन हुँदा कांग्रेसलाई नै फाइदा हुने उनले बताए । ‘हामीले निर्वाचन जित्दैछौं, हाम्रो स्थिति राम्रो बनेको छ, हामी नै निर्वाचन गर्नबाट किन भाग्ने, ’उनले भने ।
‘प्रधानमन्त्रीले चुनाव गर्दिन्, सरकारका प्रवक्ताले त्यस्तो भन्नुभएको छ र, उनले प्रश्न गरे । कांग्रेस निर्वाचनको पक्षमा छैन भनेर अपवाह फैलाइएको नेता पौडेलले बताए । पार्टी निर्वाचनको पक्षमा रहेको उनको भनाइ थियो । कांग्रेसकै नेतृत्वमा मुलुकमा तीन तहको निर्वाचन भएको उनले बताए । ‘चुनावप्रति कसैले आशंका गर्नुपर्दैन, ’उनले भने ।
समावेशी सिद्धान्तलाई आत्मसात गर्ने पार्टी कांग्रेस मात्रै भएको उनले दावी गरे । कांग्रेसले प्रत्येक तहमा एकतिहाई महिलाको उपस्थिति अनिवार्य गरेको उनले जिकिर गरे ।
एमालेको महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रयोग नगरिएको उनले बताए । ‘कांग्रेसभित्र हामीले आन्तरिक लोकतन्त्रको प्रयोग एकदमै उदार ढंगबाट गर्यौं, ’उनले भने । पार्टीको १४ औं महाधिवेशनबाट महत्वपूर्ण उपलब्धी हासिल गरिएको नेता पौडेलले बताए ।
‘मलाई महामन्त्रीका रुपमा मतदाताले पत्याएनन्, मैले काम गर्न बाँकी रहेछ, मैले आफूभित्र क्षमताको विकास गर्न अझ बाँकी छ, ’उनले भने । कांग्रेस एक हुने हो भने कसैले हराउन नसक्ने उनले दावी गरे । ‘२१ औं शताब्दीमा पनि कांग्रेसलाई कम्युनिष्टले हराउने कुरा हुनै सक्दैन, ’उनले भने ।
कार्यक्रममा कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, पूर्व क्षेत्रीय सभापति मात्रिका प्रसाद यादव, नेपाल विद्यार्थी संघका उपाध्यक्ष मुक्ति पौडेल, कांग्रेस महासमिति सदस्य बिना न्यौपाने, क्षेत्र नम्बर ३ (ख)का सभापति घनश्याम चालिसे, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का, शुद्धोधन गाउँपालिका सभापति दामोदर पौडेल, सियारी गाउँपालिका सभापति गोपाल पाण्डे लगायतले बोलेका थिए ।
कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको सभापतित्व, कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij