आइतवार , माघ १६, २०७८
भैरहवा, १६ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी पदाधिकारी मनोनयन गर्नुका साथै विभाग प्रमुखको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानबमोजिम पदाधिकारी मनोनयन गर्नुभएको नेता सुन्दर पाण्डेले जानकारी दिए ।
राप्रपाको सहायक महामन्त्रीमा रुपन्देहीका ताहिर अलीले जिम्मेवारी पाएका छन् । राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित अलीले सहायक महामन्त्रीको जिम्मेवारी पाएका हुन् । उपाध्यक्षमा हेमजङ्ग गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लादप्रसाद साहलाई मनोनयन गरिएको छ । प्रवक्तामा भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल छन् । सहायक प्रवक्तामा प्रवीनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई जिम्मेवारी दिइएको छ । सह–महामन्त्रीमा मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ छन् ।
सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अली र दीपककुमार राईलाई मनोनित गरिएको छ ।
त्यसै गरी आर्थिक विभाग प्रमुखमा दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभाग प्रमुख पुष्पराज पुरुष, सूचना तथा प्रविधि विभाग प्रमुख रबिन चाम्लिङ, तराई मधेस विभाग प्रमुख रामप्रताप साह (भोला), अभिलेख तथा मूल्यांकन विभाग प्रमुख मीना सुवेदी र सहकारी समन्वय विभाग प्रमुख सुदर्शन थापालाई जिम्मेवारी दिइएको छ ।
केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा रमानन्द न्यौपानेलाई मनोनयन गरिएको छ । यसैबीच पार्टीका पूर्व अध्यक्ष कमल थापा समूहले पार्टी अध्यक्ष लिङदेनले पार्टीको नीतिविपरीत महाधिवेशनमा पराजित व्यक्तिलाई पदाधिकारी बनाएकाले असन्तुष्टि व्यक्त गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
