images
images

शनिवार, जेठ ५ गते २०८१

‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दंगाली किसान

‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दंगाली किसान

images
images
images
बिहिवार, माघ २० २०७८
बिहिवार, माघ २० २०७८
  • ‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दंगाली किसान

    दाङ, २० माघ ।
    घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुन् । उनले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पालेकी छन् । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । उनलाई बाख्रा पाल्न सजिलोे भएको छ । उनी हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाउँछिन् । उनले पूरै खेतमा घाँस लगाउन थालेको पाँच वर्ष भयो । हरियो हुँदा काटेर गाईवस्तुलाई खुवाउन पनि पाइएको छ । सुकेको डाँठलाई खुवाउन पाइने र फल लाग्यो भने बिक्री पनि गर्न पाइने अत्यन्तै उपयोगी घाँस भएको उनले बताए । “बाख्राका लागि घाँस खोज्न भौतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिएको छ । समयको बचत पनि भएको छ । एक बिघा खेतबाट एक सिजनमा एकलाख रुपैयाँ आम्दानी हुन्छ । गत वर्ष मात्र मैले रु. दुई लाखको बरसिम घाँस बेचेँ”, उनले भने । 

    images
    images
    images

    घोराही–६ का महेश चौधरीले १३ कठ्ठा खेतमा घाँस लगाएका छन् । हिउँदमा बरसिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ । बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैँसी, भेंडा र बाख्रा सबैलाई सो घाँसले फाइदा पुयाउँछ । पशुपालक किसानका लागि बरसिम घाँस एकदमै उपयोगी भएको उनले बताए । गत वर्ष रु ८० हजारको घाँस बिक्री गरिएको उनले बताए । “यसपालि पनि राम्रो उत्पादन हुने आशा गरेको छु”, उनले भने । 

    घोराही–१७ कर्जाहीका पूर्ण चौधरीले २ भैंसी, ४ भेडा र ६ बाख्रा पाल्नुभएको छ । “दश कट्ठा खेतमा बरसिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ”, उनले भने । घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उनले बताए । “गत वर्ष रु ६० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ । यसपालि हिउँदे वर्षा भएकाले घाँस राम्रो भएको छ । एक पटक काटेर सकियो । चार पटकसम्म काट्न सकिन्छ”, उनले भने । गहुँ र मसुरो भन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसानमा ‘ग्रिन गोल्ड’मा आकर्षण बढेको छ । 

    किसानले प्रायः आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने चलन भए पनि दाङका किसानले वागवानीअन्तर्गतका तरकारी, फलपूmल र फूलको साटो घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषकले व्यवसायिक रूपमा एकवर्षीय हिउँदे कोसे बरसिम घाँसखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही–६,७ र १७ का किसानले पछिल्लो समयमा घाँसखेतीबाट राम्रो आम्दानी लिने गरेका छन् । धान खेतीपछि बरसिम घाँस खेती गर्ने गरिन्छ । । ‘भुइँघाँस’ खाएका पशुले दिने दूध अत्यन्तै लाभकारी मानिन्छ । 

    वर्षात्मा लगाइएको धान काट्नु भन्दा अगाडि मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उमँ्रदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । हरियो र सुकेको बरसिम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । घोराही –६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भए पछि यसतर्फ किसानको आकर्षण बढेको हो । मसुरो र गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको किसानको भनाइ छ ।

    घोराही– ६ का गुरुवागाउँ, गुरगै, बेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा तथा घोराही –१७ को गैरागाउँका किसानले बरसिम घाँसखेती गरेका छन् । अहिले पुरै खेत भरी हरियो बरसिम खेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका १६० घर परिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक संघका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउँछन् । जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालिएको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटकपटक सिंचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । घाँसका लागि कम लगानी गर्नुपर्ने भएकाले हरेक वर्ष घाँसखेती गर्ने किसान बढ्दै गएको शिवशक्ति घाँसको बीउ उत्पादक संघले जनाएको छ । संघका सचिव अधिकारीका अनुसार अहिले १०० हेक्टरमा बरसिम घाँस खेती गरिएको छ ।

    व्यवसायिक रूपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो । घाँस खेतीबाट गत वर्ष रु ७० लाख आम्दानी भएको सचिव अधिकारीले बताए । कतिपय किसानले आफैँ बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफैँ बिक्री गरेको रकम जोड्दा धेरै हुने उनी बताउँछन् । यस वर्ष बरसिम घाँसको बीउ करिब रु ७५ लाखको बिक्री हुने उनको अपेक्षा छ । पानी परेकाले यस वर्ष घाँस खेती राम्रो हुने किसान बताउँछन् । 

    दङ्गीशरण गाउँपालिकामा पनि पछिल्लो समय किसानले बरसिम घाँस खेती गर्न थालेका छन् । त्यहाँका किसानको मागका आधारमा ७५ प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बताए । तीन सय ६४ किसानले बरसिम घाँसको बीउ पाएका छन् । घाँसको बीउका लागि तुलसीपुर र घोराही जानुपर्ने बाध्यता हटेकाले यहाँका किसान खुशी भएका छन् । गाउँपालिकामा बरसिम, जै र भेज घाँसको बीउ वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । 

    लमही नगरपालिकाका किसानलाई व्यावसायिकरूपमा पशुपालन गर्न सजिलो होस् भनेर अनुदानमा घाँसको बीउ वितरण गरिएको नगरपालिका प्रमुख कुलबहादुर केसीले बताए । “स्थानीयस्तरमा उत्पादित बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छौं”, उनले भने । व्यवसायी र साधारण किसानलाई पशुआहार कार्यक्रमअन्तर्गत सहयोग गरिएको हो । घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको छ । 

    दाङ बरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको जिल्लाका रुपमा रहेको अधिकारीले बताए । जिल्लामा व्यावसायिकरूपमा यसरी गरिएको घाँस विभिन्न जिल्लामा बिक्री भएको छ । दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर, भक्तपुरमा बिक्री हुने गरेको छ । घोराही–६ (साबिक सौडियार गाविस) मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँसखेती सुरु भएको हो । दाङमा उत्पादित घाँसमा उमार शक्ति धेरै छ । यहाँ प्रतिकठ्ठा ३० देखि ३५ किलोग्रामसम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । हिउँदे घाँस बरसिमलाई असोजदेखि मंसिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुनमा काटेर गाईभैंसीलाई खुवाउन सजिलो हुन्छ । 

    कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गर्ने गरेका छन् । बीउ उत्पादक संघले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ । ग्रेडिङ गरेर प्रतिकिलो रु १६० देखि २२० सम्ममा विक्री गर्ने गरिएको छ । घाँसको राजा बरसिम गाई, भैँसी, बाख्रा र कुखुराले राम्रो मानेर खाने गरेको पाइन्छ । घाँसको हरियो र सुकेको डाँठ दुवै पशुपक्षीलाई खुवाउन सकिन्छ । जिल्लामा गाई, भैंसी र बाख्राको व्यवसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानले घाँस मात्रै खेती गर्ने गरेको सचिव अधिकारीले जानकारी दिए ।

    पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङका अधिकृत प्रेमकुमार चौधरीले जानकारी दिए । खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको चौधरीले बताए । घाँस खेती गरेका किसानले हरियो घाँस र फलेको दाना विक्री गरेर पनि आम्दानी गर्न सक्छन् । यो घाँस पशुका लागि पोषणयुक्त हुने गरेको चौधरीको भनाइ छ । 

    दाङमा घोराही, नारायणपुर, सतबरिया, गढवा, लालमटिया, गंगापरस्पुर, लक्ष्मीपुर र सौडियार क्षेत्रमा व्यवसायिक घाँसखेती हुने गरेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहले पशुपालक किसानलाई अनुदानमा बरसिम घाँसको बीउ वितरण गर्दै आएका छन् । घोराही उपमहानगरपालिकाले २४४ किसानलाई एक हजार ८१५ किलो बरसिम घाँसको पचास प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखा प्रमुख जीवराज पौडेलले बताए । उपमहानगरभित्रका व्यावसायिक किसानको मागका आधारमा घाँसको बीउ वितरण गरेको छ ।

    उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नतजातका पशुपालन गर्ने बढ्दै गएका छन् । किसानले हरियो र सुकेको दुवै घाँस बिक्री गरेर आम्दानी गर्न थालेका छन् । किसानलाई व्यवसायमा सजिलो होस् भनेर गत वर्षदेखि घाँसको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्न थालिएको प्रमुख पौडेलले जानकारी दिए । सिंचाइको सुविधा भएका अन्य पालिकामा पनि बरसिम घाँसखेतीका लागि प्रोत्साहन गर्ने सोचाइ राखिएको जिल्लास्थित भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij