
बिहिवार , माघ २०, २०७८
भैरहवा, २० माघ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर कमिटी, रुपन्देही, अनेरास्ववियु सिद्धार्थनगर कमिटी, भैरहवा बहुमुुखी क्याम्पस र रुपन्देही क्याम्पस कमिटी, अखिल नेपाल महिला संघ सिद्धार्थनगर र अखिल नेपाल महिला संघले बिहीबार भैरहवामा विरोध प्रदर्शन गरेको छ । मुल्यवृद्धि, सरकारी असंवैधानिक अभिव्यक्ति र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलकाविरुद्ध विरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीले बताए ।
भैरहवास्थित बुद्धचोकमा युवा संघका कार्यकर्ता तथा विद्यार्थीहरु सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए । सरकारले इन्धनमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् । प्रदर्शनमा सहभागिहरुले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, लिपुलेक कालापानी र लिम्पियाधुरा फिर्ता गर, स्थानीय निर्वाचन तत्काल घोषणा गर, २४ लाख खोप सार्वजनिक गर लगायतका नारा लगाएका थिए ।
प्रदर्शन अघि युवा तथा विद्यार्थी नेताहरुले भैरहवास्थित लुम्बिनी गेटबाट राँके जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले मसाल खोस्ने क्रममा राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरी, सचिव रोशन बहादुर थापा, अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य विवेक भण्डारी लगायत घाइते भएका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य विजय अधिकारीले पाँचदलीय गठबन्धनको सरकारले समयमा निर्वाचनको मिति घोषणा नगरेर स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने षडयन्त्र गरिरहेको बताए । उनले सरकारले मूल्यवृद्धि फिर्ता र स्थानीय निर्वाचनको मिति घोषणा नगरे अझ सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।
अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले वर्तमान सरकार निर्वाचनबाट भाग्न खोजेको आरोप लगाए । उनले अहिलेको गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताए ।
कार्यक्रममा नेकपा एमाले सिद्धार्थनगरका उपाध्यक्ष अर्जुन कुमार गिरी, सचिव नारायण प्रसाद भण्डारी, राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीका जिल्ला सह–संयोजक विकासजंग बस्नेत, राष्ट्रिय युवा संघ नेपाल क्षेत्र नम्बर ४ का इञ्चार्ज अमित शुक्ला, अखिल नेपाल महिला संघका नगर अध्यक्ष पार्वती पौडेल, अखिल नेपाल किसान महासंघका नेता लक्ष्मण भण्डारी, राष्ट्रिय युवा संघ नेपालका पूर्व क्षेत्रीय इञ्चार्ज मिलन दर्लामी, पूर्व क्षेत्रिय सदस्य अमन खाती लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij