
शुक्रवार , माघ २१, २०७८
बुटवल, २१ माघ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले लुम्बिनी सरकार अहिले परिवर्तन हुने अवस्था नभएको ठोकुवा गरे ।
फागुनमा सत्ता परिवर्तन हुने हल्ला चलेपनि शर्माले भने–‘हामीले बनाएको गठबन्धन होइन, यो राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो ।’ माथिबाट जे निर्णय हुन्छ, यहाँ पनि त्यही हुने उनले बताउँदै अहिले नै सरकार परिवर्तन नहुने दावी गरे ।
मन्त्री शर्माले केन्द्रिय सरकारदेखि प्रदेशका सबै सरकार गठबन्धनको सहमतिमा बनेका र ती सबै सरकारमा गठबन्धनको सहभागिता रहेकाले पनि लुम्बिनी प्रदेश सरकार परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको बताए ।
राष्ट्रिय आवश्यकताको आधारमा गठबन्धन बनेको बताउँंदै उनले भने, ‘व्यक्तिको चाहना र इच्छा हुँदैमा नत सरकार परिवर्तन हुन्छ नत गठबन्धन टुट्छ । ’
मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद चल्न नसक्दा कयौं काममा अवरोध भएको उल्लेख गर्दै सरकार अब संसद सुचारु गर्ने पक्षमा रहेको बताए । न्यूनतम् १५ दिनका लागि भए पनि संसद चलाएर आवश्यक कामहरु अगाडी बढाउने पक्षमा सरकार रहेको बताउँदै संसद सुचारु गर्ने मिति भने मन्त्री शर्माले बताएनन् । अहिले संसद सञ्चालनको लागि बिजनेशको तयारी भइरहेको उनले बताउँदै मन्त्रालयहरुले बिजनेश निर्माणको काम गरिरहेको जानकारी दिए ।
उनले एमसीसीले गठबन्धनको सरकारलाई केही प्रभाव नपार्ने दावी गर्दै भने, ‘जनता एमसीसीको विपक्षमा भएकाले राष्ट्रको हितमा हुने गरी परिमार्जन गर्नुपर्ने हुन्छ ।’ कोभिड महामारीको अवस्थामा पनि प्रदेश सरकारले विकासका योजनाहरु अगाडी बढाएको बताउंदै ती योजनाहरु समयमा नै सम्पन्न गर्ने दावी गरे । उनले पूर्ववर्ती सरकारले अगाडी सारेका आयोजनाहरु अगाडी बढेको बताउँदै वर्तमान सरकारले आयोजनाहरुका बजेट कटौती गर्यो भन्ने हल्ला गलत भएको बताए ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले १ अर्ब बजेट दिएको बताउंदै स्थायी राजधानी बनाउने कामले गति लिएको बताए । अहिले राजधानी दाङ नजाने बताउँदै संसद् भवन बनिरहेको र अन्य संरचना निर्माणका कामहरु पनि भइरहेको मन्त्री शर्माको भनाइ छ ।
कोरोना संक्रमणका कारण विगतका वर्षहरुमा जस्तै यस वर्ष प्रदेश दिवस मनाउन नसकिएको उल्लेख गर्दै भर्चुअलको माध्यमबाट प्रदेश दिवस मनाउने तयारी भएको मन्त्री शर्माले बताए । फागुन ३ गते स्थायी राजधानी दाङ्मा स्थापना दिवस मनाउने तयारी गरिएको र कम उपस्थितीमा दिवस मनाइने उनले जानकारी दिए । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij