२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघद्वारा धकधईमा प्रदर्शन

शनिवार , माघ २२, २०७८

भैरहवा, २२ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल रोहिणी गाउँपालिका कमिटी, रुपन्देहीले शनिबार धकधईमा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि, सरकारी असंवैधानिक अभिव्यक्ति र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलकाविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ । 

धकधई चोकमा युवा संघका नेता तथा कार्यकर्ताहरु राँके जुलुससहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, स्थानीय तह निर्वाचनको मिति घोषणा गर, २४ लाख खोप सार्वजनिक गर लगायतका नारा लगाएका थिए ।

विरोध प्रदर्शन पश्चात बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अजय रौनियारले मूल्यवृद्धि फिर्ता र स्थानीय तह निर्वाचनको मिति घोषणा नगरे अझ सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । उनले वर्तमान गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको दावी गरे ।

IMG_1754.JPG

त्यस्तै नेकपा (एमाले) रोहिणी गाउँपालिका कमिटीका सचिव भोला क्षेत्री (राजाबाबु), राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ४ का इञ्चार्ज अमित शुक्लाले गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

IMG_1761.JPG