
२०७८ साउनदेखि माघ १५ गतेसम्मको तथ्यांकका अनुसार १ सय १४ सवारी दुर्घटनाबाट ४४ जना व्यक्तिको ज्यान गएको छ । यसमध्ये २९ जना पुरुष, १३ जना महिला, २ जना बालक र १ जना बालिकाले ज्यान गुमाएका छन् ।
आइतवार , माघ २३, २०७८
बुटवल, २३ माघ । लुम्बिनी प्रदेशको रुपन्देहीमा प्रत्येक वर्ष बढ्दो सवारी दुर्घटनाका कारण सर्वसाधारणको यात्रा असुरक्षित बन्दै गइरहेको छ । सवारी अनुशासनको पर्याप्त पालना नगरिनु, सडक संरचनाको सही व्यवस्थापन हुन नसक्नु, चालकको लापरवाही, तीव्र गति जस्ता मुख्य कारक तत्वले गर्दा रुपन्देहीमा सवारी दुर्घटना बढेको पाइएको हो ।
सडक दुर्घटनाको दर अन्य जिल्ला भन्दा रुपन्देहीमा कहालीलाग्दो छ । तथ्यांक विश्लेषण गर्दा अझै पनि यो जिल्लामा सवारी दर्ता हुने क्रम बढ्दो छ भने सरकारले त्यसलाई व्यवस्थापन समेत गर्न सकिरहेको छैन् । सवारीसाधन थपिंदै गर्दा यहाँ औषतमा दैनिक १–२ जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाउनुपरेको छ । दुर्घटना न्यूनीकरण गर्न सरकार ट्राफिक चेकजाँचको मात्र भर पर्नाले पनि दुर्घटना कम हुन सकेको छैन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट २०७८ साउनदेखि माघ १५ गतेसम्मको तथ्यांकका अनुसार १ सय १४ सवारी दुर्घटनाबाट ४४ जना व्यक्तिको ज्यान गएको छ । जसमध्ये २९ जना पुरुष, १३ जना महिला, २ जना बालक र १ जना बालिकाले ज्यान गुमाएका छन् । त्यति मात्रै होइन, यस अवधीमा ७९ चौपायाको समेत ज्यान गएको छ भने ५४ जना गम्भिर घाइते, २५ जना सामान्य घाइते भएको छन् । घाइते सबै उपचारत रहेका छन् । सवारी दुर्घटनाको समयको विश्लेषण गर्दा सबैभन्दा बढी दुर्घटना साँझ ६ बजेदेखि राति १२ बजे र दिउँसोमा बढी हुने गरेको पाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव के.सी.ले दुर्घटनाको मुख्य कारण चालकको लापरवाही र तीव्र गति पछि ओभरटेक, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा र मोबाइल फोनका प्रयोग, छाडा चौपाया, जीर्ण सडक लगायत रहेको बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख केशव के.सिका अनुसार चालु आर्थिक वर्षको माघ १५ गतेसम्म रु.३ करोड ४० लाख ३९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको बताए । गत वर्ष भन्दा ७ महिनामा तेब्बर राजस्व संकलन भएको प्रमुख के.सी.को दावी छ ।
ट्राफिक प्रहरी प्रमुख के.सी.का अनुसार मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बिना सवारी चलाउने, तोकिएको भन्दा बढी भाडा लिने लगायतका कारवाहीबाट राजस्व संकलन गरेको बताए ।
चालु आर्थिक वर्षको हालसम्म आउँदा दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले विभिन्न प्रयास गरेको छ । ५५ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेको छ । जसमा सवारी दुर्घटनाबारे चालकलाई सडकमै प्रशिक्षण, विधार्थीहरु, क्बलहरु र पैदलयात्रुलाई ट्राफिक टाइटसम्बन्धी जानकारी, साइकल, अटो, ट्याक्टरहरु जस्ता ४ हजार भन्दा बढी सवारीसाधनमा स्ट्रीकर टाँस गर्ने, ५ सय भन्दा बढी सवारीसाधनको नम्बर प्लेट तथा बाइक सुधार, विभिन्न यातायात व्यवसायीहरुसंग समन्वय गरी भाडादर सर्वसाधारणले देख्ने ठाँउमा टाँस गर्ने र केही सवारीसाधनहरुलाई कानुनी दायरामा ल्याएको छ ।
सडक दुर्घटना हुदाँ मानवीय तथा भौतिक क्षति भइरहेको पैदलयात्री यदुनन्द भण्डारी र सुमन पौडेलले बताउँछन् । सम्बन्धित निकायहरुको वेवास्ताका कारण अकालमै सर्वसाधारणले ज्यान गुमानुपरेको कुरा उनीहरुले उल्लेख गरे । यस्ता घटना रोकथामका लागि कडा कानूनको व्यवस्था गरिनुपर्दछ भने सबैले आफ्नो तरिकाबाट इमान्दारितापूर्वक काम गर्ने हो भने दुर्घटना न्यूनीकरण गर्न उनीहरुको भनाइ छ । सडक विभाग, ट्राफिक प्रहरी, यातायात समिति पनि आफ्नो जिम्मेवारी बहन गर्नुका साथै यात्रुले पनि ध्यान पुर्याउनुपर्नेमा उनीहरुको जोड छ ।
देव्रेतिर सवारी चलाउने नियम रहेको नेपालमा पैदलयात्रुहरुले पनि देव्रेतिरबाट हिड्ने गर्दा पैदल यात्रीलाई बढी क्षति पुग्ने गरेको जानकारहरु बताउँछन् । सवारीको अवस्था अगाडीबाट देख्न सकिने भएकाले खासमा पैदल यात्रुहरु दाहिने तिर हिड्नुपर्ने भए पनि सोको जनचेतना पर्याप्त छैन् ।
सवारी जति आवश्यक छ, यसबाट जोखिम र मानवीय क्षति पनि उत्तिकै छ । जनसंख्या र सवारी प्रयोग गर्नेको चाप बढ्दै जाँदा दुर्घटना, जोखिम घटाउने र नियमन गर्ने उपायको खोजीमा सरोकारवालाको चासो देखिँदैन ।
दुर्घटना कम गर्न र सवारी चापबाट जोखिम घटाउन सवारीको व्यवस्थापन, सडकको निर्माण र मर्मत तथा गुणस्तर विस्तार गरी सडक नीति बनाएर ट्राफिक नियमलाई पाठ्यक्रमको विषयका रूपमा विकास गरिनुपर्ने आजको आवश्यकता हो । दुर्घटनाको तथ्यांक केलाउँदा सवारीको मेसिनरी गडबडी, ओभर लोड, साँघुरो सडक, मादक पदार्थ सेवन, ट्राफिक नियम पालना नगर्नु लगायत कारणले अधिकांश दुर्घटना हुने गरेको छ । अझै पनि ती पक्षहरुको ध्यान नगए रुपन्देही सडक दुर्घटनाको अखडा बन्दै जाने दावी गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij