हाँडी घोप्टे र धतुरे दुई अजिवका प्राणी हुन् । यी दुवै फरक राजनैतिक पृष्ठभूमी,सिद्धान्त र स्कूलबाट आएका हुन् । यिनीहरुको विचारमा जनता भनेका भेडा र कार्यकर्ता भनेका खवाँटी व्याँसा हुन्। यि दुवैसँग विशाल ब्वाँसाका झुण्डाहरु छन्। यि दुवैले यि व्याँसाहरुलाई आफ्नो अनुकूल प्रयोग गर्दछन् र गरिरहेकै छन्।
यो त भयो हाँडी घोप्टे र धतुरेको पृष्ठभूमी ...! यसको अलाव ल्याङरे र सिंगानको अचम्मको जोडि पनि छ, विचार, सद्धिान्त एउटै भएपनि यिनीहरुको खानपान, रहनसहन र भान्सा घर फरक फरक छ।
यी चार प्रकारका प्राणीहरुको २०६२/६३ को आन्दोलन पछि भएको छ भनेर मान्ने केही राजनीतिज्ञहरु भएपनि यस्को खास उद्भव हाँडी घोप्टेको व्याँसा संचालनबाट शुरु भएको दिनलाई मान्दछन्। त्यसो त यस्का साक्षी विशाल जनता रुपी भेडाहरु भएपनि माथि उल्लेखित प्राणीहरुलाई ताला चाँवी बुझाइएको पछि अबको बाटो केही रहेन ।
दमकबाट गोलाटार हुँदै मधुमल्लाबाट मावा खोला पसेर २२ पल्ट जँगार काट्दै पेरुङ खोँचमा तीनघण्टा हिंडेपछि कुसुण्डे पुगिन्थ्यो, ऐले त्यो अवस्था रहेन । कुसुण्डे, टोडके, बतासे, पंचमी, पाङदुवा हुँदै दिनभर लगाएर दमकबाट रबि पुगिन्थ्यो।
ऐले दमकबाट तीन, चार घण्टामा हामी रबि बजार पुग्न सक्तछौँ। भौतिक दूरी छोटिएको छ, नैतिक दूरी बढेको छ , यो सबै हाँडी घोप्टे र धतुरेको क्रियाकलापले हो भन्छन् केही विज्ञहरु....।
पहाडका सुन्दर रुख, जङ्गल फँडानी गर्दै विकाशका नाममा व्याँसाहरुको प्रयोग गर्दै सुन्दर प्रकृतिलाई क्षत विक्षत पारेका छन् ।
पूर्वको चुरिया पहाड त उपमा मात्र हो, मेची देखि महाकाली सम्म जङ्गलहरु सखाप पारेर डोजर प्रयोग गर्दै गिटि, वालुवा चूनढुंगा, हरियाली युक्त जङ्गल सखाप पारिदैछ ।
यि चार प्राणीहरु आफुलाई अत्यन्त वलशाली संझन्छन्, यिनका अगाडि ऐन, कानून र नियम केही पनि रहेन। यिनीहरुसँग झुण्डको झुण्ड ब्वाँसाहरु छन् । यिनै व्याँसाहरुको प्रयोग गरेर जङ्गली सिंहको शिकार गरेका छन्।
यि लुरेहरुसँग सिंह मार्ने बल कहाँबाट आयो ? सिंह जङ्गलको राजा हो । केगर्ने ? जङ्गली कुकुरहरुले सिंहको शिकार गर्दछन् तर एउटा जङ्गली कुकुरले हात्ति या सिंह मार्न सक्तैन तर, जङ्गली कुकुरको झुण्डले सिंह होस् यो हात्ति दुबैलाई मार्न सक्छ । वर्तमानको राजनैतिक वास्तविकता यही हो भन्न सकिन्छ ।
अब यसो विचार गरौ त नेपाली जनताहरुलाई यि नरपिसाचहरुले पुरै दिग्भ्रमित पारेर पुरै ब्वाँसाहरुको झुण्डको घेरामा राखिदिए । विडम्बना ! विभाजित व्याँसाहरुको देखावटी एकताले देश पुरै वन्धक बनेको छ ।
हाँडी घोप्टे, धतुरे, ल्याङरे र सिंगानेमा एउटा मात्र दिव्य लक्ष रहेको छ सत्ता । सत्ता प्राप्तिका लागि यि जिवहरु जे पनि गर्न सक्छन् – यसलाई वुँदागत रुपमा भन्नु पर्दा :
जनताको ढाडमा क्रिकेट खेल्नु ।
प्राकृतिक सुन्दरतालाई कमिशनको पोको थापि क्षत विक्षत पार्नु
कानून, संबिधान, नीति र नियम आफु अनुकूल व्याख्या गर्नु ।
जनताको जिउमा भएको जुम्रा मार्न बन्दुकको गोली प्रयाग गर्नु
समावेशिताको नाममा बुहारी, छोरी, भाइ, भतिजा, ससुरो, ज्वाईलाई उच्चासनमा राख्नु
शिक्षा, स्वास्थ्य जस्ता जन सरोकारका विषयलाई व्यापार बनाउनु।
कसैले विरोध गरेमन प्रतिगमको ठूलो विल्ला भिराइहाल्नु।
व्याँसाहरुलाई मासुको लोभ देखाएर झण्डा बोकाएर आफु पछि पछि हिड्न लगाउनु ...।
यस्ता धेरै करतुतबाट वाक्क भएका जनता रुपी भेडाहरु आफै पनि यि चटकेहरुले राम्रो गर्लान कि ? भन्ने आशाा गरेर बसेका छन् । उनीहरु चाँही सारसले माछा ढुके झैँ एक एक गरेर जनताको चहानाहरुमा लोकतन्त्र, गण्तन्त्र र संघियताको नाममा चोंच मारीरहेका छन्, पेट भरिरहेका छन्।
सत्ता भए मात्र बाँच्न सक्ने यि प्राणीहरुले नेपाली राजनीति (परराष्ट्र नीति, गृह नीति) कल्पना गर्न नसकिने अवस्थामा पुर्याएका छन् । यिनमा देशको मायाँ त्यो हद सम्म छ जबसम्म सत्ता सुख प्राप्त हुन्छ । यिनिहरु अरुलाई पुरै प्रतिगमनकारी देख्छन् । यिनका दुवै आँखामा फुलो परेर हे वा के हो ? अनुसन्धानको विषय भएको छ । यि सत्ता रुपी प्राणीलाई विदेशीहरुले पनि विश्वास गर्न छाडे ।किन छाडे ? यसको जोड घटाउ हुँदै जाला !