२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

कमल थापालाई राप्रपाले भन्यो : पार्टी छाड्ने निर्णय पुर्नविचार गर्नुस

मंगलवार , माघ २५, २०७८

काठमाण्डाै। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठकले पार्टीका पूर्वअध्यक्ष कमल थापाले सो दल परित्याग गर्न आज गरेको घोषणाप्रति दुःख प्रकट गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज काठमाडौँमा उपलब्ध पदाधिकारीको बसेको आकस्मिक बैठकले दलबाट अलग हुने थापाको निणर्यमा पुनःविचार गर्न अनुरोध गरेको नेता सुन्दर पाण्डेले जानकारी दिए।

बैठकले उक्त घटनाबाट सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकलाई विचलित नहुन आग्रह गर्दै महाधिवेशनले तय गरेको कार्यनीति, राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापनालगायत सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित नभई अगाडि बढने निर्णय गरेको छ।

आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई बैठकले आह्वान गरेको छ। गत मङ्सिरमा महाधिवेशनमा अध्यक्ष पदमा पराजित थापाले हालका अध्यक्ष लिङ्देनले महाधिवेशनमा पराजित नेतालाई एकलौटी रूपमा कार्यसमितिमा मनोनित गरेको भन्दै विरोध गर्दै आएकामा आज पार्टीबाट अलग हुने निर्णय गरेका हुन्। रासस