
सोमवार , फाल्गुण २, २०७८
भैरहवा, २ फागुन ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
रोहिणी गाउँपालिकाका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित भएका थिए । त्यस्तै ओमसतियाका अध्यक्ष राहुल नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।
त्यस्तै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमति हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीप कुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गरेका छन् । ओमसतिया उपाध्यक्ष हरिजन गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् । उनीहरुलाई एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सचिव छबिलाल विश्वकर्मा, पोलिटव्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने लगायतका नेताले पार्टीमा प्रवेश गराएका हुन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ हजार ५ सय ५० जना एमालेमा प्रवेश गर्नुभएको पार्टीका रुपन्देही जिल्ला उपसचिव हितराज पन्थीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij