
सम्पूर्ण वडामा पार्टी वडा कार्यालय स्थापना गरिने
सोमवार , फाल्गुण २, २०७८
भैरहवा, २ फागुन ।
सरकारले आगामी २०७८ वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसंगै नेपाली कांग्रेस रुपन्देही निर्वाचन केन्द्रित देखिएको छ । उम्मेदवार छनौटमा पारदर्शीता अपनाउँदै प्रचार प्रसारलाई प्रभावकारी बनाउने हिसाबले कांग्रेस लागेको छ ।
यसैक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको आतिथ्यतामा पार्टी कार्यालय भैरहवामा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले सवै वडामा पार्टी वडा कार्यालय स्थापना गर्ने तथा टोल समिति गठन गर्ने निर्णय गरेको छ ।
फागुन मसान्तभित्र जिल्लाका १ सय ५५ वटै वडामा पार्टीका वडा कार्यालय स्थापना गर्ने र सम्पूर्ण टोलमा पार्टीका टोल समिति गठन गर्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए ।
त्यस्तै पार्टीका गतिविधि अनुगमन गर्नको लागि उपसभापति अनिता शाहको संयोजकत्वमा अध्ययन समिति समेत गठन गरिएको छ । उक्त समितिमा प्राध्यापक, शिक्षक, वकिल तथा पत्रकार समेत रहने छन् । समितिले स्थानीय तहक लागि आकांक्षी र लोकप्रिय उम्मेदवारहरुको बारेमा समेत अध्यन गर्ने कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले जानकारी दिए । पार्टीले आगामी फागुन २२ मा सहिद यादवनाथ आलोक र रामप्रसाद चौधरीको स्मृतिमा रुपन्देही क्षेत्र नम्बर १ को सुरजपुरामा स्मृतिसभा एवं सहिद परिवार सम्मान कार्यक्रम समेत गर्ने भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij