
सोमवार , फाल्गुण २, २०७८
भैरहवा, २ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्थानीय तहको निर्वाचन रोक्ने प्रयास सफल हुन नदिने बताएका छन् । उनले निर्वाचन हुन नदिन गठबन्धन सरकार षडयन्त्रमा लागे पनि त्यो सफल हुन नदिने बताए ।
नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आगामी वैशाख ३० गते सरकारले घोषणा गरेको निर्वाचन रोक्न कोशिष भइरहेको बताए । उनले भने, ‘यो निर्वाचन कुनै पनि बहानामा रोक्न दिइने छैन् ।’ उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न एमालेले खबरदारी गर्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई अदालतको परमादेशबाट हटाएर गठबन्धन सरकार बनाइए पनि यो सरकार पूर्ण रुपमा असफल भएको उनले दावी गरे । वर्तमान सरकारले केही पनि गर्न नसक्ने उनको भनाइ थियो ।
‘सरकारले केही गर्न सकेको छैन, उनले भने, पुँजीगत खर्च हुन सकेको छैन, महंगी बढेको छ । ’विकासका सबै दृष्टिकोणले रुपन्देहीलाई नमूना जिल्ला बनाउने उनले बताए । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पौडेलले रोहिणी र ओमसतिया गाउँपालिकासंगै क्षेत्र नम्बर १ लाई अत्यन्तै विकसित गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । सिंगो जिल्लालाई विकासका दृष्टिकोणले माथि उठाउने उनले बताए । उनले भने, ‘विकासको आवश्यकतालाई पूरा गर्छौं, एमालेले विकासको जिम्मेवारी लिन्छ, सबै प्रकारका विभेद र असमानता हटाउँछ ।’
नेपाली जनताले आफ्नो प्रिय पार्टीको रुपमा एमालेलाई स्वीकार÷ग्रहण गरिसकेको उनको भनाइ थियो । ‘सबै राजनीतिक दलको परीक्षा भएको छ, जनता तथा राष्ट्रको पक्षमा काम गर्ने पार्टी र सबैप्रकारका विभेद समाप्त गर्ने पार्टी एमाले हो, ’उनले भने ।
एमालेकोतर्फबाट निर्वाचित जनप्रतिनिधिहरु सम्पूर्ण रुपमा जनताप्रति समर्पित भएको उनले बताए । ‘पार्टीमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई उपयुक्त जिम्मेवारी दिएर पार्टीको काममा लगाउँछ, ’पौडेलले भने ।
त्यस्तै नेकपा एमालेका सचिव, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले विकास र समृद्धिको आंकाक्षा पुरा गर्न पार्टी एमाले भएको दावी गरे । उनले विकास एमालेको प्राथमिकतामा भएको दावी गरे । विकास, समृद्धिको पक्षमा रहेका जनता एमालेको पक्षमा छन्, उनले भने ।
कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने, केन्द्रीय सदस्य सावित्रा अर्याल, प्रदेश कमिटी सदस्य बाबुलाल यादव, संजय गुप्ता, शैलेन्द्र उपाध्याय, ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल), रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव, नेताहरु मुलायम सिंह यादव, प्रदीप कुमार पाण्डे लगायतले बोल्दै एमालेकै नेतृत्वको मूलकको विकास हुने दावी गरे ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सी.को अध्यक्षता, उपाध्यक्ष जागेश्वरी देवी चौधरीको स्वागत तथा सचिव यज्ञ गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij