२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

दुई गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गरेपछि रुपन्देहीको राजनीतिमा तरंग

मंगलवार , फाल्गुण ३, २०७८

भैरहवा, ३ फागुन । 
नेकपा (माओवादी केन्द्र) का नेता तथा रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) र जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता तथा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवसहित ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेपछि रुपन्देहीको राजनीति तातेको छ । तुलनात्मक हिसाबले एमालेको संगठन कमजोर रहेका ती पालिकामा कार्यकाल सकिन तीन महिना बाँकी रहँदा ती नेताहरुले किन एमाले रोजे ? भन्ने विषयले चर्चा पाएको छ । पालिकामा माओवादी तथा जसपाका प्रभावशाली मानिएका ती नेताहरु सोमबार रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा त्यहाँ रहेका माओवादी गाउँ कमिटीसहित ठूलो संख्यामा एमालेमा प्रवेश गरेपछि रुपन्देहीको राजनीति तरंगित भएको हो ।

१६ वटा पालिका रहेको रुपन्देहीका ८ वटा पालिकामा गत स्थानीय तह निर्वाचनमा एमालेले जित हासिल गरेको थियो । माओवादीले जितेको ओमसतियाको नेतृत्व र संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित हाल जसपामा रहेको रोहिणीको नेतृत्व भित्राएर दक्षिणी क्षेत्रमा एमालेले आफ्नो प्रभाव देखाउन खोजेको छ ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवसँगै ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल) र उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन एमालेमा प्रवेश गरेका छन् । यादव नेपाली कांग्रेसका नेता एवं रूपन्देहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रमोद कुमार यादवका सहोदर भाइ हुन् भने केवट सशस्त्र युद्धका लडाकु हुन् । 

तत्कालीन संघीय समाजवादी फोरम नेपाल हाल जनता समाजवादी पार्टी नेपाल (जसपा) गाउँपालिका अध्यक्षमा निर्वाचित भएका यादव र नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित केवटलाई एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका–३ धकधईमा आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, पोलिटव्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने लगायतका नेताले पार्टीमा स्वागत गरेका थिए ।

गत स्थानीय तहमा तुलनात्मक रुपमा कमजोर रहेका पालिकाहरु यसपटक कब्जा गर्ने रणनीति अन्र्तगत सोमबार रुपन्देहीका दुईवटा पालिकाका अध्यक्ष र उपाध्यक्षलाई एमालेमा प्रवेश गराएको दावी नेताहरुको छ । सोमबार रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही माओवादी र राप्रपाका नेतालाई एमालेमा प्रवेश गराउन पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेल रुपन्देही आएका थिए ।

दुवै अध्यक्षहरु स्थानीयस्तरमा जनमतको हिसाबले बलियो मानिन्छन् । एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एमालेले रुपन्देहीका सबै पालिकामा विजय हासिल गर्ने योजना अनुरुप जनप्रतिनिधिहरुलाई एमालेमा प्रवेश गराउने अभियानमा रहेको बताए । ‘एमाले देशैभरी बलियो शक्तिको रुपमा आएको छ रुपन्देहीमा हामी अब पहिलो शक्ति बनेरै छोड्छौं अझै धेरै मतदाताहरु एमाले प्रवेश गर्दै हुनुहुन्छ, उनले भने । 

एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सत्ता गठबन्धनले जतिसुकै जालझेल गरे पनि एमालेको विजय यात्रालाई रोक्न नसक्ने बताए । अब कसैको जालझेल र षडयन्त्रबाट एमालेको विजय यात्रा रोकिदैन अब फेरी पनि एमाले आयो’, उनले भने । विकासको जिम्मा एमालेले लिने उनको भनाइ छ ।

एमालेका सचिव, लुम्बिनी प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले तराईमा एमालेको जनलहर उर्लिएको ओमसतिया र रोहिणीको अवस्थाले प्रष्ट भएको बताए । रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका नेता विश्वकर्माले दक्षिणी क्षेत्रमा एमालेविरुद्ध चलाइएको भ्रमबाट जनता मुक्त हुन थालेको बताए ।

ओमसतिया गाउँपालिकाको नेतृत्व र माओवादी पार्टी नेतृत्व लिएर एमाले प्रवेश गरेका हिरा केवट (राहुल) ले माओवादी र गठबन्धनबाट मुलकमा विकास हुन नसक्ने भएकाले एमाले रोजेको बताए । उनले भने, ‘ओमसतिया, रोहिणी र क्षेत्र नम्बर १ लाई एमालेको लालकिल्ला बनाउँछौं । यो क्षेत्रलाई एमालेमय बनाउँछौं । जीवन रहँदासम्म कम्युनिष्ट पार्टीको झण्डामुनी रहनेछु । गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न सकेन, उनले भने ’

एमालेलाई मधेशविरोधी भनेर प्रचार गरिएको बताउँदै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले सरकारमा रहँदा तराईमा एमालेले गरेको विकास र प्राथमिकताले धेरैलाई प्रभावित बनाएको बताए । उनले भने, ‘पार्टीबाट असहयोग भएका कारण जसपा परित्याग गरेको हुँ । पार्टीबाटै भ्रष्टाचार भनियो । तर म भन्न चाहन्छु, भ्रष्टाचारी प्रमाणित गर्नुहोस्, राजनीति छोड्छु । समग्र रोहिणीको विकासमा एमाले नेतृत्वको सरकारले सहयोग गरेको छ । ‘एमालेलाई मधेसविरोधी भनिन्छ तर एमाले मधेशविरोधी भएको भए क्षेत्र नम्बर १, रुपन्देहीबाट जनताले कसरी एमालेलाई जिताए ? अब एमालेको लालकिल्ला बनाउने हो, ’उनले भने ।