२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

संसदमा एमालेको अवरोध

बुधवार , फाल्गुण ४, २०७८

काठमाडौं, ४ फागुन ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले वेल घेराउ गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही सुरु भएको घोषणा हुनासाथ एमालेका सांसदले विरोध सुरु गरेका हुन् । एमालेले आफूले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले सूचना प्रकाशन नगरेका लगायतका विषय उठाएर अवरोध गर्दै आएको छ । 

सभामुख सापकोटाले कोभिड–१९ का कारण लामो समयदेखि बस्न नसकेको बैठकलाई सञ्चालन गर्न आग्रह गर्दै जनताका आवाजलाई मुखरित हुन दिन र राज्य सञ्चालनका लागि आवश्यक ४२ विधेयकमा छलफल गर्ने वातावरण निर्माणका लागि विशेष अनुरोध गरे । 

सभामुखको पटकपटकको आग्रहपछि पनि विपक्षीले नाराबाजीसहित विरोध जारी राखेका थिए । सभामुख सापकोटाले सदनको अवरोधबारे नागरिक समाज, बौद्धिक जगतले समेत चिन्ता जाहेर गरेका सन्दर्भमा पनि ध्यानाकर्षण गराएका थिए । 

सभामुख सापकोटाले अवरोधका कारण संसदीय गतिविधि प्रभावहीन बन्न पुगेको र नागरिकबाट सिर्जित नागरिकको सर्वाेच्च निकायका सम्मानित सदनमा विधि र प्रक्रियाबाट आफ्ना विषय राख्न आग्रह गरे । “संसद् सञ्चालन गरौँ, बैठक सुसञ्चालनको वातावरण सिर्जना गरौँ, म विशेष आग्रह गर्दछु”, उनले भने । रासस