२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

४ वर्ष ढिलो बने पनि विकासको नमुना बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

शुक्रवार , फाल्गुण ६, २०७८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि क्यालिब्रेसन फ्लाइट हुँदैछ । क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष जहाज एरो थाई जहाज आएको छ । एरो थाईले दिनको ७ घण्टाको दरले फ्लाइट गर्नेछ । त्यसको आधारमा २ महिनाभित्र नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई रिपोर्ट दिनेछ । क्यानले परिक्षण उडानको रिपोर्ट आएकाे ५६ दिनपछि विमानस्थलबाट व्यावसायिक उडान गर्न याेग्य हुनेछ ।

क्यालिब्रेसन फ्लाइट सुरू हुँदै गर्दा क्यानका महानिर्देशक प्रदीप अधिकारीले विकाससम्बन्धी जानकारी राख्ने विद्यार्थीको लागि यो आयोजना उदाहरणीय भएको बताए । ’हामीले मेलम्ची आयोजना हुनबाट यसलाई बचाएका छौँ । यो करिब टुंगिएको आयोजना थियो, तर नरोकी हामीले अघि बढायौँ जसकारणले अहिले क्यालिब्रेसन फ्लाइट गर्ने अवस्थामा पुग्यौँ,’ अधिकारीले भने ।

कसरी अघि बढेको थियो गौतमबुद्ध विमानस्थल ?

रूपन्देही जिल्लामा अवस्थित मौजुदा गौतमबुद्ध विमानस्थलको धावनमार्गलाई स्तरोन्नति गरी नयाँ धावनमार्ग, अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेसन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जीवनोद्वार भवनलगायत सञ्चार तथा पथप्रदर्शक सामग्रीहरू जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्ने र मुलुकमा अर्को वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न यो आयोजना सुरु गरिएको हो ।

दिगो पर्यटन विकासका लागि मुलुकमा अर्को वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने लक्ष्यसहित २०१४ नोभेम्बरबाट आयोजना सुरू गरी २०१७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

२०१७ मा नसकिएपछि २०१९ को संशोधित मिति राखियो । त्यसपछि २०२०, २०२१ हुँदै २०२२ मा पुर्याउँदा पटक–पटक गरी ७ पटक म्याद थपेर तोकिएको समयभन्दा ४ वर्षपछि मात्रै आयोजनाको पहिलो फेजको भौतिक पूर्वधारको काम सकिएको छ ।

प्रारम्भिक लागत ६ अर्ब २२ करोड रहेको थियो । क्यानले आयोजनामा करिब ११ अर्ब रुपैयाँ लगानी गरेको जनाएको छ । 
आयोजना सुरू भएदेखि नै विभिन्न किसिमका अवरोधहरू सिर्जना भएको थियो । २०१५ मा विनाशकारी भूकम्प, त्यसपछिको नाकाबन्दी र पछि निर्माण सामाग्रीको अभावले आयोजनाको काममा अवरोध सिर्जना भएको थियो ।

यसरी काम निरन्तर ढिलाइ भएपछि २०१७ डिसेम्बरमा अर्थात निर्माण सम्पन्न हुनुपर्ने मितिमा जम्मा २७ प्रतिशत काम सम्पन्न भएको थियो । काम सम्पन्न गर्नुपर्ने समयमा जम्मा २७ प्रतिशत काम सकिएपछि मुख्य लगानीकर्ता एशियाली विकास बैंकले काम सन्तोषजन नरहेको भन्दै आयोजनाबाट हात झिक्ने पत्र प्राधिकरणलाई पठायो । ’सबै काम सकिने समयमा जम्मा २७ प्रतिशत काम भएपछि एडीबीले हात निकाल्ने आशयमा पत्र पठायो,’ महानिर्देशक अधिकारीले भने ’तर, हामी ठेक्का क्यान्सिल गर्नतर्फ लागेनौँ हाम्रै लगानीमा भए पनि अघि बढाउछौँ भन्यौँ । यदि रोकेको भए हामीले २०१२ को मूल्यांकनअनुसार ठेक्का लगाएको फेरि टेन्डर गर्दा लागत दोब्बर पुग्ने थियो ।’

तत्कालीन महानिर्देशक सञ्जीव गौतमले मन्त्रालयका सचिव र मन्त्रीलाई सहमत गराए आयोजना अघि बढाउने निर्णय लिएका थिए ।

काम नरोकिएपछि २०१८ मा ५१ प्रतिशत काम भयो । पछि पुनः एडीबी पनि यो आयोजनामा जोडियो । यसबीचमा स्थानीय निकायबाट पनि कच्चा पदार्थको प्रयोगमा समस्या भएको अधिकारीले बताए । ’बुटवलमा रहेको विमानस्थलको लागि हामीले दाङ र चितवनबाट खानीजन्य कच्चा पदार्थ लिएर काम ग¥यौँ । यो आयोजनाले भूकम्प नाकाबन्दी मात्रै होइन संघीयताको अवरोध पनि खेप्यो,’ उनले भने । महानिर्देशक अधिकारीका अनुसार यो आयोजनामा एसियाली विकास बैंकको ७ अर्ब २० करोड र प्राधिरणको ४ अर्ब गरी ११ अर्ब २० करोड रुपैयाँ लगानी लगाएको छ ।

मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसक्ने जहाज पनि यो विमानस्थलमा अवतरण गर्न सक्नेछन् । एयरपोर्टका अन्य पूर्वधारको हिसाबले काठमाडौं बराबरकै रहेको जनाइएको छ । (शिलापत्र)