२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

आगामी निर्वाचनमा गठबन्धनको पराजय निश्चित : ओली 

शनिवार , फाल्गुण ७, २०७८

काठमाण्डौं,,७ फागुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धनको पराजय निश्चित भएको बताएका छन्। 

शनिबार भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको भन्दै चुनावी परिणामले नै गठबन्धनको पत्तासाफ हुने दाबी गरे। अध्यक्ष ओलीले वर्तमान सरकार अव धेरै दिन नटिक्ने समेत बताए। देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प एमाले हुने उनले बताए। 

आफ्नो सरकारको पालामा व्यापक विकासका काम गरेको भन्दै उनले एमालेको सरकार बनेपछि देशमा फेरि समृद्धिको लहर आउने दावी गरे। अध्यक्ष ओलीले एमसीसीलाई केहि दलले मागिखाने भाडो बनाएकाले ठूला शक्ति राष्ट्रको हस्तक्षेप बढेको धारणा पनि राखे। सत्ता गठबन्धनका कारण ठूला शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन थालेपनि अझै चेत नआएको उनको भनाई छ। उनले एमसीसीका सन्दर्भमा संसद्ले नै निर्णय लिनुपर्छ भन्ने एमालेको धारणा रहेको बताए। ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध, सहयोग र साझेदारको स्थिति खतरामा पर्दै गएकाले नेपाल अप्ठ्यारो स्थितिमा पुगेको पनि उल्लेख गरे। 

प्रजातन्त्र दिवसको अवसर पारेर सूर्यविनायक नगरपालिकाले जगातीमा २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ। नगरपालिकाको वडा नं ८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी जमिनमा पुराना भवन मर्मत तथा नयाँ भवन निर्माण गरेर अस्पताल सञ्चालनमा ल्याएको हो।