२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादवले दिए जसपाबाट राजीनामा

सोमवार , फाल्गुण ९, २०७८

भैरहवा, ९ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला)ले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट राजीनामा दिएका छन् । पार्टीबाट आफूलाई असहयोग भएको कारण देखाउँदै सोमबारदेखि लागू हुने गरी उनले राजीनामा दिएका हुन् ।

सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी उनले जसपाको जिल्ला सदस्य, पार्टी निकट समाजवादी युवा संघ, नेपालको केन्द्रीय सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी दिए ।

वडाअध्यक्ष यादवले भने, ‘विगत ९ वर्षदेखि पार्टीको अनुशासनमा रही काम गर्दै आएको थिए तर मलाई पार्टीबाट असहयोग भयो, यद्यपि वडावासीबाट पूर्ण रुपमा सहयोग पाएको छु, वडावासीले मलाई विश्वास गरेर निर्वाचनमा जिताउनुभयो ।  ’

वडा नम्बर ४ बाट निर्वाचित वडा सदस्य मोहम्मद आलम मिर अन्सारीबाट आफूलाई असहयोग हुँदै आएको विषयमा पार्टीमा जानकारी गराए पनि उहाँ माथि कुनै कारवाही प्रक्रिया अगाडी नबढाइएको उनले बताए । ‘लुम्बिनी प्रदेश सरकारमा जसपाबाट सहभागि ४ जना मन्त्रीहरुलाई पटकपटक वडाको विकासको लागि लिखित तथा मौखिक आग्रह गरे पनि कुनै सहयोग प्राप्त गर्न सकिन, ’उनले भने । उनले वडाबासीको सल्लाह सुझावअनुसार नै अब कुन पार्टीमा जाने भन्ने कुरा तय गर्ने बताए । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा मुक्तिनाथ यादव (भोला) तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।  उनी सिद्धार्थनगरमा फोरमबाट निर्वाचित एक मात्र वडाअध्यक्ष हुन् ।