२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

सरकारले स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको छ : छविलाल विश्वकर्मा

सोमवार , फाल्गुण ९, २०७८

रुपन्देही, ९ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने षड्यन्त्र गरेको बताएका छ्न । पार्टीको रुपन्देही जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै विश्वकर्माले सरकार निर्वाचनलाई पर धकेलेर संवैधानिक सर्वोच्चतालाई खुम्च्याउन उद्दत रहे पनि जनता र एमालेका जनसंगठनहरुको दबाबका कारण निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको बताए । 

एमाले जनताको अभिमत र विश्वासबाट अघि बढेको पार्टी रहेको उल्लेख गर्दै पार्टी लुम्बिनी प्रदेशका इञ्चार्ज विश्वकर्माले राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियुले गरेको दबावका कार्यक्रम संकेत मात्रै भएको र एमाले आफै अघि बढेमा यसको तागतलाई कसैले रोक्न नसक्ने दावी गरे । 

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिदै विश्वकर्माले कुनै पनि बहानामा निर्वाचनलाई पन्छाउने कार्य एमालेलाई स्वीकार्य नहुने वताए । 

पूर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले निर्वाचन लक्षित कार्यक्रम लिएर अघि बढन कार्यकर्ताहरुलाई आग्रह गर्दै आफूलाई उम्मेदवारका रुपमा प्रस्तुत गर्ने र पार्टी विधि, पद्दतिविपरीत काम गर्नेहरुलाई त्यस्तो गतिविधि नगर्न निर्देशन दिए । कार्यकर्ताहरुले पार्टी भित्रको एकतालाई मजबुत बनाउन आन्तरिक सुदृढीकरणमा लाग्नुपर्ने बताउँदै सचिव विश्वकर्माले गलत काम र गलत प्रवृतिलाई त्याग्न नसक्नेहरुबाट पार्टीलाई हानी हुने बताए । 

पार्टी जिल्ला कमिटीका अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा वसेको बैठकले जिल्ला कमिटीमा थप सदस्यको मनोनयन, कार्यविभाजन, सचिवालय तथा सल्लाहकार परिषद् गठन गरेको छ । बैठकमा अन्तर पार्टी निर्देशन वाचन गरिनुका साथै मनोनित सदस्यहरुको सपथग्रहण तथा जिल्ला सदस्यहरुको लेवी निर्धारण गरिएको पार्टी जिल्ला सचिव यज्ञ गैरेले बताए । 

बैठकमा पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–ईन्चार्जद्धय लिला गिरी, दधिराम न्यौपाने, पार्टी केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इञ्चार्ज भुमिश्वर ढकाल, लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोज प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । बैठकले पार्टीको दशौ राष्ट्रिय महाधिवेशन र नवौ जिल्ला अधिवेशनका सन्देशहरुलाई पार्टी कार्यकर्ता र जनताको वीचमा लैजान जिल्लाका १६ वटै पालिका तहमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।