२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

बालुवाटारमा एमालेको अडान कायमै

बिहिवार , फाल्गुण १२, २०७८

काठमाडौं, १२ फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा उहाँहरुबीच संसद्को जारी अवरोध खुलाउने र एमसीसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसद्बाट एमसीसीलाई अनुमोदन गरौँ भनेर प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरुले संसद् अवरुद्ध गरिरहेको हो पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राख्नुभएको उनले जानकारी दिए ।एमालेले आफूहरुले कारवाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै ६ महिनादेखि संसद् अवरुद्ध गर्दै आइरहेको छ । 

लामो समयदेखि अवरुद्ध रहेको संसद्लाई व्यवस्थित ढंगले सञ्चालनका गर्नका निमित्त प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग संसद् भवन र बालुवाटारमा लामो छलफल गर्नुभएको उनले जानकारी दिए । संसद्लाई प्रभावकारी बनाउन दलहरुसँगको छलफल जारी रहने उनको भनाइ छ ।  

“संसद्लाई सञ्चालन गर्नका निमित्त प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहनुभएको छ, संसदमा अवरोध हटाउने प्रतिबद्धता उहाँहरु (एमाले)ले जनाउनुभएको छैन”, उनले भने । सरकारका प्रवक्ता समेत रहेको मन्त्री कार्कीले भोलि बस्ने संसद्को बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु हुने र गहन सहमतिबाटै निष्कर्षमा पुर्याइने बताए ।