
आइतवार , फाल्गुण १५, २०७८
रुपन्देही, १५ फागुन । देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारहरु विजयी भएका छ्न । ६ दलीय गठबन्धन र एमालेबीच भएको प्रतिष्पर्धामा भारी मतान्तरले गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेदवारहरु विजयी भएको हुन ।
मिनि चुनावकै रुपमा हेरिएको खानेपानी संस्थाको निर्वाचनमा कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको थियो । ६ दलीय गठबन्धन बनाएर अघि बढेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र नेकपा (क्रान्तिकारी माओवादी) ले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने दावी गर्दै आएका थिए ।
चुनाव प्रचार अभियानलाई आक्रमक ढंगले अगाडि सारेको गठबन्धनले जसरी पनि निर्वाचन परिणामलई आफ्नो पक्षमा पार्न लागिपरेको थियो । निर्वाचन परिणामलाई सबैले चासोको रुपमा हेरेका थिए । केन्द्रीय राजनीतिमा जस्तै खानेपानी निर्वाचनमा गठबन्धन र एमालेबीच धुर्वीकरण देखिएको थियो ।
संस्थाका निवर्तमान अध्यक्ष गुमानसिंह कुँवरको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको एमालेको समूहले उपाध्यक्षमा अनिशा पौडेल, सचिवमा हरि पाण्डे, कोषाध्यक्षमा कृष्ण ज्ञवालीसहित ६ जना सदस्यमा जीत हात पारेको छ भने गठबन्धनका तर्फबाट एक जना सदस्य विजयी भएका छ्न ।
नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य धुर्व खरेलले गठबन्धनका नाममा लादन खोजिएको राजनीतिक सिण्डीकेटलाई परास्त गर्न एमाले सफल भएको बताए । ‘सहमति र सहकार्यको लागि गरिएको पहललाई वेवास्ता गरे पछि हामी एक्लै मैदानमा उत्रिएका थियौ, ’उनले भने । संघ–संस्था सञ्चालनमा सामूहिकताको विकास गरौं भन्ने भावनालाई एमालेले सदैव ध्यान दिएको बताउँदै खरेलले निर्वाचनमा एमालेको प्यानल नै विजयी भए पनि संस्था सञ्चालनमा पार्टीको हस्तक्षेप नहुने बताए । निर्वाचन परिणामले एमाले कमजोर छैन भन्ने सन्देश प्रवाह गरेको उल्लेख गर्दै लुम्बिनी प्रदेश कमिटी सदस्य खरेलले आगामी दिनमा पनि हैसियत अनुसारको जिम्मेवारी लिएर दलहरु अघि बढनुपर्ने बताए ।
नेपाली कांग्रेस देवदह नगर सभापति गुनाखर भुर्तेलले ६ दलको गठबन्धन गर्दा पनि जित्न नसक्नु गम्भिर समीक्षाको विषय भएको बताए ।
नवनिर्वाचित अध्यक्ष कुवरले राजनीतिक रुपमा निर्वाचन प्रक्रियामा सामेल भए पनि संस्थाको कामलाई नितान्त राजनीति भन्दा बाहिर राखेर अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छ्न ।
देवदह खानेपानी संस्थामा कुल ४ हजार ३ सय उपभोक्ता रहेका छ्न । जसमध्ये ३ हजार १ सय १ मत खसेको थियो । शनिबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार ३ हजार १०१ मत खसेको चुनावमा एमालेका अध्यक्षका उम्मेदवार गुमानसिंह कुँवरले १ हजार ७ सय ८ मत प्राप्त गर्दै विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका माओवादी केन्द्रका मोतिलाल ढकालले १ हजार २ सय ६७ मत पाए । नवनिर्वाचित अध्यक्ष कुँवर खानेपानी संस्थाका हालका अध्यक्ष हुन् भने पराजित ढकाल यसअघिको अधिवेशनमा पनि कुँवरसँगै पराजित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij