बुटवल, २१ फागुन ।
पत्रकार एवं लेखक बसन्त बस्नेतले लेखेको उपन्यास पुस्तक ‘महाभारा’ को विषयवस्तुमाथि बुटवलमा छलफल भएको छ । छलफलमा सहभागिहरुले ‘महाभारा’मा पुर्वेली संस्कृति झल्किएको आभास भएको बताएका छन् ।
पाठक मञ्च बुटवल र चौतारी रिडर्स क्लब बुटवलले आयोजना गरेको छलफलमा बोल्दै नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री घनश्याम भुसालले युवा पुस्ताको लेखनशैलिमा उत्कृष्ट भाषा र सहज शब्दावली झल्किएको बताए ।
पुस्तक विमोचनको छोटो समयमा नै चर्चाको शिखरमा पुग्न सफल भएकोमा बधाई दिदै उनले आगामी दिनमा पनि अझै उत्कृष्ट पुस्तकको पर्खाइमा पाठक रहने बताए । पत्रकारिताको छोटो समयमै माथिल्लो तहमा पुगेको बताउँदै उनले यो यात्रालाई निरन्तरता दिन आग्रह गरे ।
फरक प्रसंगमा बोल्दै उनले पछिल्लो समय राजनीतिमा रहेका व्यक्तिहरुले विचारमा आधारित हुनुपर्ने भए पनि त्यसो नभएको बताए । उनले राजनीति पद पाउनको लागि सीमित भएको बताउँदै अहिले पदमा जाने र लुटेर खाने भन्ने सोच पैदा भएकोले सुधारको आवश्यकता रहेको उल्लेख गरे ।
उपन्यास ‘महाभारा’ लेखक बसन्त बस्नेतले पुस्तक पुर्वेली भाषासहितको साहित्य रहेको उल्लेख गर्दै विक्री संख्याको आधारमा कुनै पनि पुस्तकको सफलतालाई जोड्न नहुने बताए । उनले आफू पत्रकार भएको कारणले चर्चामा नआएको दावी गर्दै उनले यसबाट क्षणिक सफलता मिले पनि दीर्घकालीन सफलताको लागि पुस्तकको गुणस्तर र विषयवस्तु बलियो हुनुपर्ने दोहोर्याए ।
उनले जनप्रतिनिधिले अध्ययनको हरेक टोलटोलमा एक पुस्तकालय स्थापना गर्नुपर्ने बताउँदै यस्तो हुन नसके साहित्य पछि पर्दै जाने बताए ।
कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले ‘महाभारा’ले माओवादी द्वन्द्व तथा प्रेम सम्बन्धलाई देखाउन खोजेको बताउँदै आगामी दिनमा पनि यस्ता पुस्तक लेख्ने मनोबल बनाइराख्न आग्रह गरेका थिए ।
राजनीतिज्ञ एव राजनीतिक विश्लेषक मनिकर कार्की, प्राध्यापक ऋषिराम भुषाल, गिरी श्रीस मगर लगायतले बोल्दै साहित्यको माध्यमबाट धेरै कुराहरु बाहिर ल्याउन सकिने भन्दै ‘महाभारा’ पुस्तकको समीक्षा गरेका थिए । कार्यक्रममा साहित्यमा रुची राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।