
सोमवार , फाल्गुण ३०, २०७८
रुपन्देही, ३० फागुन ।
नेपाल इञ्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको अधिवेशनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानल विजयी भएको छ । एशोसिएसनको प्रदेश सभापतिमा शैलेन्द्र प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले नेकपा (एमाले) निकट जीवन अर्याललाई ८३ मतअन्तरले पराजित गरेका हुन् । श्रेष्ठले ४९९, अर्यालले ४१६ र माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी) निकट संयुक्त प्यानलका ओमप्रसाद सापकोटाले ८१ मत प्राप्त गरेको निर्वाचन अधिकृत गौतम रौनियारले बताए ।
प्रदेशबाट प्रतिनिधित्व हुने १ जना केन्द्रीय सदस्यसहित सबै पदाधिकारी र २ जना सदस्यबाहेक सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको हो ।
त्यस्तै केन्द्रीय सदस्यमा विश्वरन्जन मिश्र निर्वाचित भएका छन् । मिश्रले एमाले निकट जयलाल मरासिनीलाई २६ मतले पराजित गरेका हुन् । मिश्रले ४६४, मरासिनीले ४३८ र रामधन श्रेष्ठले ७६ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा लेख बहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले ४९२ र एमालेका बृषेश वैश्यले ३५४ र दिवाकर प्याकुरेलले ११४ मत ल्याएका छन् । सचिवमा ४२९ मतसहित गोविन्द पंगेनी विजयी भए भने एमालेका विवेक लामिछानेले ३७६ र अरुण खनालले १७६ मत प्राप्त गरेका छन् । सहसचिवमा अर्जुन गिरी र कोषाध्यक्षमा सन्दीप रेग्मी विजयी भएका छन् ।
कार्यसमिति सदस्यहरूमा दर्शन तिवारी, ईश्वर जिसी, प्रवीन मिश्र, अर्जुन पाण्डे, सोयब अहमद अन्सारी, विनय कुमार गुप्ता, आरती देवकोटा, विद्या भुसाल विजयी भएका निर्वाचन अधिकृत रौनियारले जानकारी दिए ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) निकट इञ्जिनियहरु गरी तीनवटा प्यानलले प्रतिष्पर्धा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij