२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

एमाले अब निर्वाचन केन्द्रित : पूर्वमन्त्री गिरी

बुधवार , चैत्र २, २०७८

तिलोत्तमा, २ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री लिला गिरीले पार्टी अब निर्वाचन केन्द्रित भएको भन्दै सोहीअनुसार परिचालित हुन कार्यकर्तालाई आग्रह गरेका छन् । पाँचदलीय गठबन्धनलाई परास्त गर्ने गरी एमालेले आफ्नो चुनावी अभियानलाई अघि बढाउने पनि उनले जानकारी दिए । 

एमाले तिलोत्तमा नगर कमिटीद्वारा बुधबार शंकरनगरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य गिरीले यस्तो बताएका हुन् । ‘एमाले अब चुनावमा केन्द्रित भएको छ, अबका तीनै तहका निर्वाचनमा एमालेको विजय निश्चित छ’–उनले भने । 

एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न डराएर अन्य दलहरुले गठबन्धन गरेर मात्र चुनावमा जाने तयारी गरेको भन्दै जुनसुकै गठबन्धन भए पनि एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिन तयार रहेको बताए । उनले एमाले नै मुलुक र जनताको आशा र भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतैपनि देखिन छाडेको बताए । “सरकार छ कि छैन भन्ने कुराको जनतालाई वास्ता छैन र सरकारप्रति आम विश्वास पनि छैन”–गिरीले भने । उनले अहिले सबैतिर एमाले प्रवेशको लहर चलिरहेको र पार्टीप्रतिको आकर्षण बढ्दै गएको भन्दै बाटो बिराएकाहरुलाई पार्टीमा फर्किन आग्रह गरे ।

कार्यक्रममा बोल्दै एमालेका अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए । पार्टीमा कसैलाई काखापाखा वा भेदभाव नगरिने पनि न्यौपानेले बताए । उनले देशव्यापी रुपमा एमालेप्रतिको आकर्षण बढेको भन्दै अहिले सबैतिर पार्टी प्रवेशको लहर चलिरहेको उल्लेख गरे । आफ्नो दलमा प्रवेश गर्नेहरुलाई नयाँ र पुरानोको आधारमा भेदभाव नगरिने र कामको आधारमा मूल्यांकन र जिम्मेवारी प्रदान गरिने न्यौपानेले बताए ।

त्यस अवसरमा नेकपा (माओवादी केन्द्र) का पुर्व केन्द्रीय सदस्य तुलसीप्रसाद सापकोटासहित करिब एकसय जनालाई एमाले नेताहरुले पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए ।

एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा  जिल्ला अध्यक्ष तेजेन्द्र केसी, तिलोत्तमा नगर उपाध्यक्ष नेत्रलाल बन, सचिव मिनप्रसाद पोखरेल, नवप्रवेशी तुलसीप्रसाद सापकोटा, खिमानन्द न्यौपाने लगायतले आ–आफ्नो धारणा राखेका थिए ।