
शुक्रवार , चैत्र ४, २०७८
भैरहवा, ४ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री घनश्याम भुसालले राजनीतिमा धर्म पस्यो भने खतरनाक हुने बताएका छन् ।
लुम्बिनी प्रेस क्लबले शुक्रबार भैरहवामा आयोजन गरेको होली मिलन कार्यक्रममा भुसालले वैचारिक हिसाबले एक ठाउँमा ल्याउनका राजनीति जति राम्रो साधन हो त्यति खतरनाक रहेको बताए । उनले भने, ‘राजनीतिमै मानिस मानिसबीच भिन्नता देखाउने, मेरो संस्कृति राम्रो छ अरु खराब छ भन्ने चिन्तनले एकअर्कामा लडाउनको लागि मतभेद देखाएमा त्यो राजनीतिका लागि खतरनाक रहेको छ ।’
संस्कृति, सभ्यता, ज्ञान विज्ञानले हामीलाई एक ठाउँमा जुटाउन, जुट्नका लागि धकेल्ने गरे पनि कहिलेकाही आउने भिन्नता ल्याउनका लागि राजनीति खतरनाक चिज भएकाले यसमा राजनीतिज्ञहरुले सोचनु र विवेक प्रयोग गर्नुपर्ने बताए ।
‘होली जस्ता सांस्कृतिक पर्वलाई प्रोत्साहित गर्न जरुरी छ, यसले हामी एकै हौ भन्ने ठाउँ दिनका लागि वातावरण बनाउने गरेको छ, ’नेता भुसालले भने ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका भुसालले घुस नखाने नेताहरुको पार्टी, वा पार्टीहरु घुस नखाने मान्छेहरुको पार्टी बन्दिए भने बाटो प्रशासन र संस्कृति सबै बन्ने बताए । उनले आफु यही कोणले हेर्ने गरेको बताउँदै भने, ‘यो पार्टी घुस नखाने नेताहरुको पार्टी हो भन्ने स्थापित भयो भने मात्रै त्यो पार्टीले मुलुक बनाउँछ ।’
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले संस्कृतिको संरक्षण गर्ने उद्देश्यले होली मिलन समारोहको आयोजना गरिएको बताए ।
क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता, कार्यक्रम संयोजक तथा सचिव शंकर प्रसाद पाण्डेको स्वागत तथा महासचिव कमल रायमाझीको सञ्चालनमा कार्यक्तम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij