२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

विकास निर्माणका लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसर : गृहमन्त्री खाँण

शनिवार , चैत्र ५, २०७८

पाल्पा, ५ चैत ।
गृहमन्त्री बालकृष्ण खाँणले आउँदो स्थानीय निर्वाचन विकास निर्माणका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् । शनिबार रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उहाँले राजनीतिक स्थायीत्व र विकास निर्माणको लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसर भएकोमा जोड दिए । उनले यहाँको खानेपानी समस्या समाधान, पर्यटन विकास लगायतका क्षेत्रमा संघीय सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास दिलाए ।

मुस्कानसहितको प्रहरी, सम्मानसहितको प्रहरी सरकारको अभियान रहेको बताउँदै मन्त्री खाँणले राष्ट्रसेवक सबै कर्मचारीले बफादार भएर आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिए । इलाका प्रहरी कार्यालयको स्तरवृद्धि गरी क्षमता पनि विस्तार गरिने सो अवसरमा मन्त्री खाँणले बताए ।

नगरप्रमुख रमणबहादुर थापाले रामपुर नगरपालिकासहित कालीगण्डकी बेँसीका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक, धार्मिक  तथा पर्यटन क्षेत्रका विषयमा समेटिएको मागपत्र गृहमन्त्री खाँणलाई हस्तान्तरण गरे । कूल रु पाँच करोड ८७ लाख ३७ हजार ४९५ को लागतमा सो चारतले भवन निर्माण भएको हो । यस नगरपालिकाबाट आफ्नै आन्तरिक स्रोतको रकम विनियोजन गरी प्रशासनिक भवन निर्माण गरिएको छ ।

भवन निर्माण सम्पन्न भएपछि हाल यसै भवनबाट सेवा प्रवाह भइरहेको छ । आयुर्वेद शाखा र पशु शाखाको आफ्नै भवन भएकाले सोबाहेक सबै शाखा यहीँ भवनबाट सञ्चालन भएको छ । रासस