
मंगलवार , चैत्र ८, २०७८
भैरहवा, ८ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट रिटर्नी फेडेरेसन नेपालको प्रथम सिद्धार्थनगर भेला मंगलबार भैरहवामा सम्पन्न भएको छ । भेलाले गणेश चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा बालुराम पाण्डे, सचिवमा ज्ञानेन्द्र पाण्डे, उपसचिवमा पुर्णमाया कोइराला क्षेत्री, कोषाध्यक्षमा राजु सिंह, सदस्यहरुमा कल्याण केसी, कुल प्रसाद भण्डारी, देव नारायण धवल, युवराज भट्टराई, महेश माली, सुनिता क्षेत्री, पशुपति मुराउ, पुस्कर आचार्य, सुशील श्रेष्ठ, दुर्गा खड्का, हरि भण्डारी र पदम पन्त निर्विरोध चयन भएको निर्वाचन मण्डलका अध्यक्ष तथा एमाले सिद्धार्थनगर वडा नम्बर ३ कमिटीका अध्यक्ष गणेश बेल्बासेले बताए ।
नगर भेला कार्यक्रममा बोल्दै नेकपा एमाले रूपन्देही जिल्ला कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि नेपालीको स्वाभिमान उचो भएको बताए । उनले एमालेले सदैव देश जनता र राष्ट्रको पक्षमा सही निर्णय लिएर जनताको मन जित्न सफल भएको बताए । अब कोही पनि नेपाली युवाहरु विदेशिनुपर्ने बाध्यतालाई हटाउन यो संगठनले महत्वपूर्ण भूमिका खेल्ने पन्थीको भनाइ थियो । उनले भने, ‘अब तपाईंहरु उत्पादनसंग जोडेर समाजको अगुवाइ गर्नुहोस्, आफ्नो सिप र क्षमतालाई उपयोग गर्नुहोस् ।’
कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय सल्लाहकार संयोजक दुर्गा भुसालले विदेशबाट फर्केका नेपालीहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल भएको हुँदा सबैलाई संगठनमा आबद्ध हुन आग्रह गरे । उनले ज्ञान सीपलाई प्रयोग गर्ने गरी यो संगठनले काम गर्ने बताउँदै भुसालले देशलाई अगाडी लैजान क्षमता भएका युवाहरुले भूमिका खेल्नुपर्ने बताए । ‘हामी नेता बनाउन पनि होइन उद्योगी बनाउन पनि होइन सबै जना जोडिएर काम गरौं र क्षमता भएका अघि जानुहुन्छ, ’भुसालले भने ।
रिटर्नी फेडेरेसन नेपाल रुपन्देहीका अध्यक्ष एकदेव सापकोटा (विष्णु) को अध्यक्षतामा भएको कार्यक्रममा एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज चोपलाल आचार्यले नेपालको हरेक आन्दोलनमा प्रवासमा रहँदा नेपालीहरुको महत्वपूर्ण योगदान हुने तर विदेश गएर फर्कंदा सांगठनिक जिम्मेवारी नहुने कार्यको अन्त्यका लागि रिटर्नी फेडेरेसन नेपालको जन्म भएको बताए ।
संगठनका केन्द्रिय सदस्य तथा रुपन्देही इञ्चार्ज सिता बस्यालले परदेशबाट स्वदेश फर्केपछि आफ्नो परिचय दिन डराउने गरेको बताउँदै यो संगठन जन्मनु महत्वपूर्ण कुरा भएको बताइन् । एमालेका जिल्ला कमिटी सदस्य केशव गौतमले एमाले जनताको पार्टी भएको हुनाले सारा जनमत एमालेको पक्षमा रहेको बताए । एमाले सिद्धार्थनगर नगर कमिटीका सचिव नारायण प्रसाद भण्डारीले एमालेलाई स्थानीय निर्वाचनमा विजयी बनाएमा पार्टीले हक र अधिकारका लागि धेरै योजना ल्याएर कार्यान्वयन गर्ने बताए । रिटर्नी फेडेरेसनका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इञ्चार्ज सन्देश ढुंगानाको स्वागत मन्तव्य र जिल्ला सचिव जीवन अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij