images

बिहिवार, बैशाख १३ गते २०८१

बुटवलमा कृषि मेला सुरु 

बुटवलमा कृषि मेला सुरु 

images
images
images
शुक्रवार, चैत्र ११ २०७८
शुक्रवार, चैत्र ११ २०७८
  • बुटवलमा कृषि मेला सुरु 


    बुटवल, ११ चैत ।
    बुटवलमा कृषि मेला–२०७८ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमिव्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गरिएको कृषि मेलाको लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे । 
    ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कृषि मेलाको बिहीबार उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले पुनः कालिगण्डकी–तिनाउ डाईभर्सनमा जोड दिए । उनले यस क्षेत्रको कृषिको आधुनिकीकरण र व्यवसायीकरणको लागि पनि पानी अपरिहार्य रहेको बताउँदै राष्ट्रिय उत्पादनमा योगदान गर्ने कालिगण्डकी–तिनाउ डाईभर्सनमा सहयोग गर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरे ।

    images

    राष्ट्रिय हितलाई ख्याल नगरी सन्धि सम्झौता गरिएको कारण आफ्नो देशको पानी आफैले प्रयोग गर्न नपाइएको बताउँदै प्रदेश प्रमुख शेरचनले यहीबाट लगेको पानीले भारतमा ३÷४ बाली उत्पादन गर्ने र त्यही उत्पादन नेपालमा आयात गर्नुपरेको भनाई राखे । यो परिस्थिति तोड्नको लागि पनि कालिगण्डकी–तिनाउ डाईभर्सन अपरिहार्य रहेको उनको भनाइ थियो ।
    त्यस्तै उनले आयात प्रतिस्थापन गर्ने गरी कृषि उत्पादनमा जोड दिए । त्यसको लागि सरकारले नीतिगत व्यवस्था गरि कृषिमा आकर्षण गर्नुपर्ने उनले भनाइ राखे ।

    कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषिमा व्यवसायिक विकास गरी कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टीकृत कृषि मेला आयोजना गरिएको बताए । उनले कृषिमा आधुनिकिकरण र व्यवसायिक विकासको लागि संघले पहिलेदेखि नै पहल र पैरवी गर्दै आएको भनाइ राखे । अध्यक्ष कसजूले कृषिमा वैज्ञानिक उत्पादन प्रणाली विकासको लागि सरकारसंग सोही अनुसारको नीति बनाइदिन पनि आग्रह गरे ।

    कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा कृषि उद्यम केन्द्रका अध्यक्ष अरुणराज सुमार्गीले कृषिको विकासको लागि नीतिगत व्यवस्था, वैज्ञानिक व्यवसायीकरण आवश्यक रहेको भनाइ राखे । उनले त्यसको लागि महासंघले सय किसान अभियान सञ्चालन गरिएको पनि जानकारी दिए । उक्त अभियानका माध्यमबाट पैसा, प्रविधी र प्राविधिकमा जोड दिइनेछ । उनले विउ आयात रोकिने हो भने माटो खानुपर्ने अवस्था आउने बताउँदै सरकारले कृषिजन्य उद्योगको लागि राम्रो नीति लिनुपर्ने भनाइ राखे ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बुटवल उपमहानगरपालिका भित्र २ हजार ९ सय हेक्टर कृषियोग्य जमिन रहेको र नगरपालिकाले तरकारी विउ, मल, दुग्ध उत्पादनको लागि भकारो सुधार लगायतका कार्यक्रम सञ्चालन गरेको जानकारी गराए ।

    त्यस्तै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले जमिनको खण्डीकरणले व्यवसायिक कृषिमा बाधा हुने बताउँदै जमिनको चक्लाबन्दी र सामूहिक खेती प्रणालीमा जोड दिए ।

    कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

    संघले २०६२ सालदेखि निरन्तर कृषि मेला गर्दै आएको छ । यो दशौं संस्करणको कृषि मेला हो । पछिल्लो समयमा कृषिजन्य उत्पादनको आयातमा समेत अरबौं बाहिरिरहेको छ । कृषि क्षेत्रमा रहेको सम्भावनाहरुलाई उजागर गर्न, थप लगानी भित्र्याउन तथा कृषिमा आधुनिकीकरण र प्रतिष्पर्धात्मक क्षमता बढाउनको लागि पनि कृषि मेला फलदायी हुने विश्वास गरिएको छ ।

    पाँच दिनसम्म सञ्चालन गरिने मेलामा कृषिमा अत्याधुनिक प्रविधि (जस्तै : धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैविक मल आदि) को प्रदर्शनी गरिनेछ । त्यस्तै कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशन गरिने छ । कृषि फूड फेष्टिबलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवद्र्धन गरिनेछ । यसले स्थानीय कृषि वस्तुको प्रवद्र्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    मेलामा कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल, उत्कृष्ट कृषि उत्पादनको प्रद्र्धशन, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल समावेश गरिने छ । त्यस्तै दुग्धपान प्रतियोगिता, कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी, कृषिमा आधारित सांस्कृतिक कार्यक्रम गरिनेछ ।

    गैरनाफामुलक मेलाको रुपमा आयोजना गरिएको कृषि मेलामा अधिकतम ५० स्टल रहेका छन् । मेलामा २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij