
शुक्रवार , चैत्र ११, २०७८
बुटवल, ११ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी स्थानीय तह निर्वाचनको तयारीका क्रममा ठाउँठाउँमा चुनाव प्रचार प्रसार कार्यालय खोल्न थालेको छ । यसैक्रममा एमालेले बुटवलका विभिन्न ठाउँमा प्रचार कार्यालय स्थापना गरेको हो ।
एमाले शाखा कमिटी–३ बुटवलले गोलपार्कमा प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय स्थापना गरी चुनावी तयारीका काम सुरु गरेको छ । कार्यालयको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै केसीले स्थानीय तह निर्वाचनमा विगतमा भन्दा धेरै स्थानीय तहमा विजय हासिल गर्ने रणनीतिका साथ पार्टी अगाडि बढेको बताए ।
कार्यक्रममा पार्टी पूर्व जिल्ला कमिटी उपसचिव गोपाल राना, जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली, जिल्ला कमिटी सदस्यहरु घनश्याम चापागाई, पवित्रा श्रेष्ठ, शाखा कमिटी सह–इञ्चार्ज एवं नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ प्रदेश सचिव केशवराज पन्थी, शाखा कमिटी अध्यक्ष पदम रिजाल, सचिव गणेशबहादुर अधिकारी, टोल विकास संस्थाका तर्फबाट कमल ढुंगाना, टोल कमिटीका तर्फबाट बाबुराम श्रेष्ठ, नगर कमिटीका विनोद पौडेल, अनेमसंघ केन्द्रीय सदस्य पुनम लिगल, लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा करिब ३ सय जना सहभागी थिए ।
त्यस्तै नेकपा एमाले बुटवल वडा नम्बर ५ को प्रचार प्रसार कार्यालय पनि उदघाटन भएको छ । त्यस अवसरमा बोल्ने नेताहरुले अब जनताको घरदैलोमा गएर एमाले सरकारले गरेका कामबारे जनतामा बुझाउनुपर्नेमा जोड दिएका थिए ।
त्यसै गरी एमाले बुटवल उपमहानगरपालिका शाखा कमिटी १३ को चुनाव प्रचार प्रसार कार्यालयको पनि उदघाटन गरिएको छ । स्थानीय तह निर्वाचनका लागि २०७८÷७९ प्रचार–प्रसार तथा जनसंम्पर्क कार्यालय उदघाटन गरिएको हो ।
कार्यालयको एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले पार्टीले सबै टोलहरुमा चुनावी अभियानलाई अव तीव्र बनाउने बताए । उनले एमाले नेतृत्वको सरकारले गरेका लोकप्रिय कामलाई जनतामा लैजान पनि आग्रह गरे ।
शाखा कमिटी अध्यक्ष झविन्द्र थापा (ध्रुव) को अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य गोपाल राना, एमाले जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक बाबुराम पन्थी, नगर अध्यक्ष किसन ज्ञवाली, उपाध्यक्ष शोभाखर पोखरेल, जिल्ला सदस्य तथा वडा इञ्चार्ज मधुकला कुँवर, जिल्ला सदस्य तथा वडा सह–इञ्चार्ज योगबहादुर गुरुङ, शाखा कमिटी उपाध्यक्ष शिवलाल उपाध्याय, सचिव रामु भुसाल लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij