
शनिवार , चैत्र १२, २०७८
भैरहवा, १२ चैत ।
तराई मधेश जनता पार्टी (टाईगर्स)ले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । सरकार र पार्टीबीच भएको ११ बुँदे सहमति कार्यान्वयन नभएकाले आगामी स्थानीय निर्वाचन बहिष्कार गर्ने भैरहवामा शुक्रबार पत्रकार सम्मेलन गरी उक्त पार्टीले जनाएको छ ।
पार्टीका केन्द्रीय सह-सचिव मेजर पाण्डेले स्थानीय तह निर्वाचनको औचित्य नदेखिएको बताए । उनले ११ बुँदे सम्झौता कार्यान्वयन नभएको, सुकुम्बासीको समस्या समाधान नभएको, अझै पनि कतिपय नागरिक नागरिकताबाट वञ्चित हुनुपरेकाले पार्टीले निर्वाचन बहिष्कार गर्ने बताए । ‘हाम्रा कार्यकर्ता अझै पनि कारागारमा छन्, सहीद परिवारलाई क्षतिपूर्ति दिइएको छैन, मुलुकमा भ्रष्टाचार बढेको छ, ’उनले भने । पटकपटक सरकारसँग माग पुरा गर्न आग्रह गरे पनि पुरा नभएको उनको भनाइ छ । अब शान्तिपूर्ण आन्दोलनमा उत्रिने पाण्डेले बताए । मधेशवादी दल सत्तामा पुगेर जनताप्रति जिम्मेवार हुन नसकेको र जनतालाई वेवास्ता गरेको उनले आरोप लगाए ।
पार्टीका लुम्बिनी प्रदेश प्रमुख धुर्व शर्माले नेपालका २२ जिल्लामा स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने बताए । उनले सुकुम्बासीको समस्या समाधान हुन नसकेको बताए । पार्टीका कार्यकर्ता माथि लगाइएको झुठा मुद्दा खारेज गर्नुपर्ने, सहिद परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, झुठा मुद्दामा फरार रहेका कार्यकर्तालाई देशमा शान्तिपूर्ण रुपमा बस्न वातावरण मिलाउनुपर्ने, पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने, सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, भ्रष्टाचार गरी आर्जन गरिएको सम्पत्ति छानबीन गरी सरकारीकरण गर्नुपर्ने, संविधान संसोधन गर्नुपर्ने पार्टीको माग रहेको शर्माले बताए । त्यस्तै नागरिकताको समस्या समाधान गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने, किसानको माग सम्बोधन गर्नुपर्ने पार्टीको माग रहेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij