
शनिवार , चैत्र १२, २०७८
भैरहवा, १२ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा पार्टीको वडा कार्यालय उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेता पोखरेलले एमाले नेतृत्वको सरकारले मुलुकमा धेरै राम्रा काम गरेको बताए । उनले गरेका कामहरुको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।
पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य विश्वराज बराल (अनुप)ले संविधानको कार्यान्वयवनका लागि एमालेको जित आवश्यक रहेको बताए । उनले वैदेशिक हस्तक्षेप र उत्पीडनविरुद्ध एमालेले लिएको अडानका कारण पनि पार्टी जनताको मनमा बस्न सफल भएको बताए ।
एमाले रुपन्देही जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले सत्तामा रहेका दलहरु निर्वाचनबाट डराएको बताए । उनले एमालेको दबाबकै कारण वर्तमान सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्न बाध्य भएको बताए ।
एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज चोपलाल आचार्यले एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गरी विजयी बनाएमा विकास समृद्धिका बाँकी काम पुरा हुने बताए ।
पार्टीका सिद्धार्थननगर अध्यक्ष चक्र बहादुर थापाले एमालेले सिद्धार्थनगरका प्रमुख उपप्रमुखसहित बहुमत वडामा जितेमा विकासले फड्को मार्ने बताए ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थी, पार्टीका रुपन्देही जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर सह–इञ्चार्ज उमा अधिकारी, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य पम्फावती खनाल, एमले सिद्धार्थनगर उपाध्यक्ष अर्जुन कुमार गिरी, सचिव नारायण प्रसाद भण्डारी, उपसचिव कुमार गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
एमाले सिद्धार्थनगर वडा नम्बर ७ का का अध्यक्ष कमलेश बहादुर श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष बाबुराम भट्टराईको स्वागत तथा सचिव थलराज पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij