
आइतवार , चैत्र २०, २०७८
भैरहवा, २० चैत ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य रवि ठाकुरले लोकतन्त्र र मानवअधिकारको रक्षा र विकासका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताएका छन । ‘घर घर जाऔ कांग्रेस जिताऔ’ अभियान अन्तर्गत शनिबार रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा आयोजित भेलालाई सम्बोधन गर्दै नेता ठाकुरले सो कुरा बताएका हुन ।
२००७ साल अघिदेखिको राजनैतिक इतिहास केलाउँदा पनि नेपाली कांग्रेस एक मात्र लोकहितकारी पार्टी रहेको उल्लेख गर्दै नेता ठाकुरले लोकतन्त्र र मानवअधिकारका लागि लड्दै देशमा सबैभन्दा लामो र संघर्षपूर्ण इतिहास बोकेको कांग्रेस पार्टीले मात्र देश र जनताको भलो हुन सक्ने बताए । उनले एमसीसी परियोजना नेपालको हितमा रहेको बताए । उनले भने, ‘राष्ट्रको हितमा रहेको एमसीसीबारे अनेक भ्रम फिँजाइएकाले कांग्रेस कार्यकर्ताले जनतामाझ प्रष्ट पार्नु पर्छ ।’ उनले अविकसित देशहरूको गरिबी र बेरोजगारी अन्त्य गर्नका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन परियोजना बनेको बताए ।
आगामी निर्वाचन कांग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउँदै उनले भने, ‘लोकतन्त्रको रक्षा र नागरिक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि कांग्रेसको जीत आवश्यक छ ।’ उनले बिजुलीको उत्पादन विदेशमा बेच्न ट्रान्समिसन लाइन बनाउनु र सडक बनाउनु राष्ट्र हितमा रहेको बताए ।
नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य अष्टभुजा पाठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेसको जीत सुनिश्चित रहेको बताए । उनले पार्टीभित्रको आपसी तिक्तता र मतभेद त्यागेर कांग्रेस जिताउन सबैजना एकढिक्का भइ लाग्नुपर्ने उपस्थित नेता कार्यकर्तालाई आग्रह गरे । नेता पाठकले भने, ‘योगदान र लोकप्रियताको आधारमा तेरो–मेरो नगरी इमान्दार र योग्य उम्मेदवार छनौट गर्नुस, जीत सुनिश्चित छ ।’ कम्युनिष्ट लगायतका लोकतन्त्र विरोधी शक्तिहरूले मुलुकलाई खतरा पुर्याउन सक्ने बताउँदै उनले भने, ‘त्यस्ता स्वार्थी समूह र तानाशाही तप्काबाट सावधान रहन आवश्यक छ ।’
नेपाली कांग्रेस क्षेत्र नम्बर ४ (क) का सभापति शिव कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य बासुदेव यादव, महाधिवेशन प्रतिनिधि गया प्रसाद बरई, क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति मुकेश यादव, जिल्ला सदस्य एवं सम्मरीमाई गाउँपालिका उपाध्यक्ष प्रियंका शाही, बैजनाथ पाठक, विरेन्द्र यादव, रमेश यादव, जनार्दन यादव लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij